संशोधन प्रस्ताव थाती नराखे चुनाव प्रभावित हुने एमालेको चेतावनी

चैत ७, काठमाडौं । नेकपा एमालेले संबिधान संशोधन प्रस्तावलाई थाती राखेर निर्वाचत तर्फ अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दहाललाई प्रस्ताव गरेको छ । प्रधानमन्त्रीले सोमबार बिहान बोलाउनुभएको बैठकमा एमाले अध्यक्ष केपी ओलीसहित नेताहरुले अहिलेलाई संशोधन प्रस्ताव थाती राख्न प्रस्ताव गरेको हो । अध्यक्ष ओलीले संशोधन प्रस्ताव थाती नराखे स्थानीय तहको निर्वाचन प्रभावित हुने चेतावनी दिनुभयो । उहाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्तावलाई थाति राखेर अघि बढनुको विकल्प नरहेको बताउनुभयो ।
प्रधानमन्त्री दहालले निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा भइरहेको छलफलबारे जानकारी दिँदै आवश्यक सुझाव दिन एमालेसँग आग्रह गर्नुभयो । आफूहरुले संविधान संशोधन प्रस्तावलाई थाति राखेर निर्वाचन गर्नु पर्ने बताएको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री दहालले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने आश्वासन दिनुभयो । निर्वाचन समयमै हुन्छ भन्दै त्यसमा दायाँबायाँ नहुने अडान आफूले मधेसी मोर्चाका नेताहरुलाई भनेको प्रधानमन्त्रीले जानकारी गराउनु भएको एमाले संसदीय दलका नेता नेम्वाङले बताउनुभयो ।