पाँच करोडको खानेपानी आयोजना सुरु

 

चैत ४, काठमाडौँ । म्याग्दीको मालीका गाउँपालिका– ४ देवीस्थानमा रु पाँच करोड लागतको खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । रु पाँच करोड ६० लाख लागत अनुमान गरिएको आयोजनाबाट साविकको देवीस्थान गाविसको २, ३, ४, ५, ६ र ७ नम्बर वडाका चार सय ७३ घरधुरी लाभान्वित हुने खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयले जनाएको छ ।
सरकारको रु चार करोड ४८ लाख र उपभोक्ताको रु एक करोड १२ लाख लगानीमा आयोजना निर्माण हुने सव डिभिजन प्रमुख इञ्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार आयोजनाको हालसम्म पूर्वाधार निर्माणको ५० प्रतिशत काम पूरा भएको छ । मुहानको संरचना, ७.२ किलोमिटर ट्रान्समिसन र २१.२७ किलोमिटर वितरण पाइपलाइन, बीस हजार र पचास हजार लिटर क्षमत्ताको दुई वटा रिजर्भ टङ््याकी निर्माण कार्य सकिएको इन्जिनियर केसीले बताउनुभयो । मरुखोला, लेखानी खोला र दोभानको मुहानबाट चार इन्चको पाइप मार्फत प्रतिसेकेन्ड चार लिटरका दरले आपूर्ति हुने पानी चार वटा टङ््याकीबाट वितरण गरिने छ । ८५ वटा ‘भल्ब च्याम्बर’ निर्माण गरी सबै घरमा मिटरसहितको निजी धाराबाट खानेपानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष अमलाल फगामीले बताउनुभयो ।
सार्वजनिक धाराको तुलनामा सजिलो, सुविधायुक्त, समयको बचत, पानीको मितव्ययी प्रयोग, आयोजनाको दिगो सञ्चालन, व्यवस्थापनमा सहजलगायतका फाइदाका कारण निजी धारा जडान गर्न लागेको अध्यक्ष फगामीले बताउनुभयो । यस आर्थिक वर्षमा रु ६० लाख बजेट विनियोजन भएको यो आयोजनामा गत वर्षसहित हालसम्म रु ६९ लाख ९० हजार खर्च भइसकेको छ । उपभोक्ता समितिबाट निर्माणकार्य गर्ने भएकाले कम लागत र लक्ष्य अघिनै काम सकिने कार्यालयले जनाएको छ । पहिलो चरणमा एक सय ४३ घरमा यसैवर्ष खानेपानी सुविधा पु¥याउने लक्ष्य छ ।
भौतिक पूर्वाधारको काम लक्ष्य अनुसार तीव्रताका साथ भइरहेकाले थप बजेट माग गरिएको इन्जिनियर केसीले बताउनुभयो । आगामी वर्ष योजना सम्पन्न गर्ने लक्ष्य छ ।