२ करोड जना भोकमरीको जोखिममा

 

फागुन,३० काठमाडौ– सोमालियासहित चार मुलुकका २ करोड व्यक्तिलाई भोकमरीबाट बचाउनुपर्ने अवस्था देखिएको छ । संयुक्त राष्ट्रसंघका मानवीय क्षेत्रका प्रमुख स्टेफेन ओ ब्राइनले केन्या, यमन, दक्षिणी सुडान र सोमालियामा भोकमरीमा परेकाहरूलाई उद्धार आवश्यक भएको बताएका छन् ।

हामी इतिहासको संवेदनशील घडीमा छौं । संयुक्त राष्ट्रसंघ स्थापना भएयता यो वर्षको सुरुमै विशाल मानवीय संकटको अवस्थामा छौं”, प्रमुख ब्राइनले भने, हाल यी चार मुलुकका २ करोडभन्दा बढीले भोकमरी र अकाल मृत्युको समस्या भोग्दै आएका छन् ।”
उनका अनुसार सामूहिक र समन्वयात्मक विश्वव्यापी प्रयासबिना मानिसहरू मर्ने अवस्थामा छन् । धेरै व्यक्ति प्रभावित छन् र रोगबाट अकाल मृत्युवरण गर्न बाध्य भएका छन् ।

सोमालियामा ६० लाखभन्दा बढीलाई खाद्यान्न सहयोगको आवश्यकता देखिएको छ । यो संख्या देशको जनसंख्याको आधा हो । खडेरी, अकाल मृत्यु र आतंकवादी समूह एल सबाबका कारण यो मुलुक संकटको अवस्थामा रहँदै आएको छ ।
सोमालियाको अवस्था संवेदनशील छ । मानिसहरू भोकका कारण मर्दै छन् र पानीको पनि अभाव देखिएको छ।” मोगादिसुवासी नुरु इब्राहिमले भने । उनी आफ्नो घर छोडेर क्याम्पको शरणमा आएका छन् ।

अल सबाबले सडकमा अवरोध गर्दै आएको छ । खाद्यान्न सहयोगका पहुँच पुग्न सकेको छैन । सबाबले खाद्यान्न पनि चोरी गर्दै आएको छ ।छिमेकी मुलुक केन्यामा पनि २७ लाख व्यक्ति भोकमरीको जोखिममा छन् । यो संख्या आगामी महिनासम्म ४० लाख पुग्न सक्ने राष्ट्रसंघले जनाएको छ । केन्या सरकारसँगको सहकार्यमा राष्ट्रसंघले चाँडै २० करोड सहयोग गर्न अपिल गरेको छ ।
हालै मात्र अकाल मृत्युको घोषणा गरिएको दक्षिण सुडानमा पनि ७५ लाख व्यक्तिलाई सहयोगको आवश्यकता देखिएको छ । यीमध्ये आधा मानिस विस्थापित भएको राष्ट्रसंघले जनाएको छ । यमनमा पनि ७० लाख व्यक्तिलाई खाद्यान्न सुरक्षा अपरिहार्य देखिएको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेसले पनि यसै साता समान किसिमको अपिल गरेका छन् । संकटग्रस्त मुलुक सोमालियालाई विश्व समुदायले बेवास्ता गरेको उनको भनाइ छ । गत साता सोमालियाका प्रधानमन्त्री हसन अली खेरले भोकमरी र खडेरीसम्बन्धी रोगबाट १ सय १० को ज्यान गएको बताएका थिए ।
सोत्र: एजेन्सी