देशभरका नगरपालिका र गाविस भंग, ७४४ स्थानीय तह आजदेखि कार्यान्वयनमा

फागुन ३०,काठमाडौँ – सङ्घीय संरचना अनुसारका नयाँ ७४४ स्थानीय तह सोमबारदेखि व्यावहारिक रूपमा कार्यान्वयनमा आउनेभएका छन्। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत शुक्रबार ७४४ स्थानीय तह कार्यान्वयनको घोषणा गरे पनि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सोमबारदेखि मात्र सबै स्थानीय तह कार्यान्वयनमा आउने भएका हुन्। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

सरकारले स्थानीय तह कार्यान्वयनमा समस्या आउन नदिन सक्रियता तीव्र पारेको छ। कर्मचारी सार्वजनिक बिदामा पनि काम गरेर स्थानीय तहबाट सेवा प्रवाह सहज गर्न लागिपरेका छन्।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सात प्रदेशमा मन्त्रालयका सात सहसचिवको नेतृत्वमा स्थानीय तह कार्यान्वयनमा सहजीकरण समिति बनाई काम तीव्र बनाएको छ।
सहसचिव नेतृत्वको समितिले साविकका ७५ जिल्लाकै स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारीलाई स्थानीय तह कार्यान्वयनमा समस्या आउन नदिने निर्देशनसहित आवश्यक सहजीकरण गरिरहेको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए।
उनका अनुसार शनिबार र आइतबार स्थानीय तह पुनः संरचना आयोगले तोकिएका सबै केन्द्रमा गाउँपालिका वा नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिका लेखिएको साइनबोर्ड राख्ने, कार्यालयको लेटर प्याड र छाप नयाँ बनाउने काम भइसकेको छ। साविकै संयुक्त वडा कार्यालयलाई केन्द्र तोकिएका स्थानमा सोही कार्यालयबाट कार्य सम्पादन गरिने र नयाँ स्थानमा केन्द्र तोकिएका स्थानमा घर भाडमा लिएर बोर्ड, छाप र लेटर प्याड नयाँ संरचना अनुसारको प्रयोग गरी कार्यान्वयनमा ल्याउने काम भइरहेको छ।
सचिव अधिकारीले सेवाग्राहीलाई सकेसम्म सेवामा असहज नहोस् भनेर निरन्तर काममा लागिपरेका छौँ, सामान्य बाहेक अन्य समस्या सेवाग्राहीलाई नपर्ने बताए।