जोखिम बस्ती छाडे जग्गा किन्न दुई लाख

फागुन २८,काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्ती छाडेर सुरक्षित स्थानमा घर बनाउने प्रत्येक घरधुरीलाई जग्गा खरिदका लागि दुई लाख रुपियाँ उपलब्ध गराउने तयारी गरेको छ । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको बैठकले उक्त रकम उपलब्ध गराउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो ।
जोखिमयुक्त बस्तीको पहिचान गर्न प्राधिकरणले गठन गरेको कार्यदलले करिब एक हजार पाँच सय घरधुरीलाई सुरक्षित स्थानमा सार्नका लागि रकम उपलब्ध गराउनुपर्ने सिफारिस गरेको थियो । सुरक्षित स्थानमा घर बनाउन चाहनेहरूले जग्गा खरिदका साथै निजी आवास निर्माणका लागि पनि अन्य लाभग्राहीसरह तीन लाख रुपियाँ पनि पाउनेछन् ।
यसैगरी बैठकले भूकम्पका कारण कम प्रभावित भनिएका १७ जिल्लामध्ये सर्वेक्षण सकिएका १४ जिल्लाका १५ हजार ७४३ जनालाई लाभग्राही सूचीमा समावेश गर्ने निर्णय गरेको छ ।
लाभग्राहीसँग अनुदान सम्झौताका लागि प्राधिकरणका कार्यकारी सदस्य संयोजक रहेको टोलीले मङ्गलबारदेखि जिल्लामा गएर अभिमुखीकरण तालिम दिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले बताए ।
बैठकले पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि २०७३ लाई संशोधन गर्न कार्यकारी सदस्य हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले गुनासो विकेन्द्रीकृत गर्नका लागि कार्यविधि संशोधन गर्नेबारे गृहकार्य गरी प्रतिवेदन पेस गर्नेछ ।