आज विश्व मृगौला दिवस,जनचेतना मूलक कार्यक्रम गरी मनाईदै

फागुन २६,काठमाडौं – आज विश्व मृगौला दिवस । मृगौला रोग तथा यसबाट बच्ने उपायहरुका बारेमा जनचेतना मूलक कार्यक्रम गरी मनाईदैँछ । हरेक बर्ष आजकै दिन मनाईने यो दिवसको यस बर्षको नारा ‘जीवनको लागि मृगौला’ रहेको छ । दिवसका अवसरमा विभिन्न अस्पताल तथा संस्थाहरुले निःशुल्क परीक्षण सहित विभिन्न कार्यक्रम गर्दैछन् ।

राष्ट्रिय मृगौला उपचार केन्द्रले काठमाडौंको क्षेत्रपाटीमा निःशुल्क उपचार शिविर चलाईरहेको छ । नेपालमा २६ लाख मानिसमा मृगौलाको केही न केही समस्या रहेको राष्ट्रिय मृगौला उपचार केन्द्रको तथ्याङ्क छ । यी मध्ये दुई लाख ६० हजारमा गम्भीर समस्या रहेको तथा २६ हजारको मृगौला बिग्रिएको केन्द्रले जनाएको छ ।
मृगौलालाई स्वस्थ राख्न बर्षमा एक पटक स्वास्थ्य परीक्षण गर्न मृगौला रोग विज्ञहरुको सुझाव छ । सरकारले मृगौला रोग लागेपछि डायलासिस से्वा निशुल्क गराएको छ। २०४५ सालदेखि नेपालमा मृगौलाको डायलासिस शुरु भएको हो । प्रत्यारोपण गर्न पाँच देखि ६ लाख रुपैंया सम्म खर्च र बाँचुञ्जेल महिनाको सरदर १२ हजार रुपैयाँको औषधि लाग्छ ।