को हुन् सप्तरीमा मारिएका तीन व्यक्ति

 

फागुन २५,सप्तरी – सोमबार साँझ सप्तरीमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन गोली चलाउँदा तीनजनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ। प्रहरीका अनुसार सञ्जन मेहता, पीताम्बरलाल मण्डल र आनन्द साहको मृत्यु भएको छ। एकजनाको घटनास्थलमा र दुईजनाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीको भनाइ छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
-प्रहरीले हानेको गोली टाउकोमै लागेपछि सप्तरी मलेठ–२ का २० वर्षीय सञ्जनको घटनास्थलमै मृत्यु भएको हो। उनी पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका थिए। यस्तै, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल र प्रसवनी–४ टेंगरीका ३५ वर्षीय आनन्द साहको धरानमा मृत्यु भएको हो। दुवैलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। साह कांग्रेसका सक्रिय कार्यकर्ता थिए।
मृतक तीनैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ । अन्त्येष्टि कहिले हुने हो थाहा छैन, नभएसम्म घरमा चुलो बल्दैन
-स्थानीय पसले सञ्जन मेहताको बिहे नौ महिनाअघि मात्रै भएको थियो । बेहोस भएकी श्रीमतीको राजविराज अस्पतालमा उपचार भइरहेको छ, दाजुलाई हृदयाघात भएको छ ।
-५० वर्षीय पीताम्बर मण्डल घरमा रंगरोगन गर्ने मजदुर थिए । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप हुन थालेपछि उनी घरनजिकै रहेको सडकमा निस्केका मात्र थिए । अचानक गोली पेटमा लाग्यो र उनको मृत्यु भयो ।
-पाँच वर्षमुनिका बालबालिकालाई पोलियो खोप पुर्या‍एर घर फर्कंदै गरेका सिनियर अहेब आनन्द साहले श्रीमतीलाई फोन गरेर आपूm बाटोमै भएको जानकारी दिएका थिए । तर, उनी घर पुग्न पाएनन् । मोटरसाइकलमै गोली लागेर उनको निधन भयो ।