राष्ट्रपतिले मन्दिर उद्घाटन गरिन्, पूर्वराजाले पूजा गरे

फागुन २५,नवलपरासी – राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीमा मंगलबार शाश्वत धाम उद्घाटन गरिन् । लगत्तै पूर्वराजा ज्ञानेन्द्रले त्यही मन्दिरमा पूजा गरे । एउटै कार्यक्रममा फरकफरक समयमा उपस्थित भएर उनीहरूले आ–आफ्नो भूमिका पूरा गरे । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

-नवलपरासीको देवचुली नगरपालिका– २ दुम्कौलीस्थित चौधरी उद्योग परिसरमा निर्माण गरिएको धाम उद्घाटन गर्न राष्ट्रपति भण्डारी बिहान १० बजे पुग्ने कार्यक्रम थियो । तर, उनको हेलिकोप्टर निर्धारित समयभन्दा करिब एक घन्टापछि मात्र अवतरण गर्यो‍। धाम उद्घाटन गरेर शान्त शैलीमा राष्ट्रपति बाहिरिएलगत्तै जयजयकारका साथ पूर्वराजा प्रवेश गरे । हिन्दू धर्म र राजतन्त्रका समर्थकले कार्यक्रमस्थल वरपर ज्ञानेन्द्रको स्वागतमा तुल–ब्यानर पनि टाँसेका थिए । ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँदै समर्थकहरूले उनलाई मञ्चसम्म पुर्या‍एका थिए । पूर्वराजाका लागि शाश्वत धाममा पूजा गर्ने भूमिका छुट्याइएको थियो जो उनले पूरा गरे । उनलाई बिदाइ गर्दा पनि नारा लगाउने र सेल्फी खिच्नेको प्रतिस्पर्धा थियो ।
-पूजा गरेपछि कार्यक्रमस्थलबाट केहीबेर बाहिरिएका पूर्वराजा धर्मसभाका रूपमा आयोजित दोस्रो सभामा प्रमुख अतिथि थिए । पहिलो कार्यक्रममा राष्ट्रपति बसेकै सिटमा दोस्रो सभामा पूर्वराजा ज्ञानेन्द्र बसे । अरू अतिथिले बोलेपछि प्रमुख अतिथि बोल्छन् कि भनेर धेरैले अनुमान गरेका थिए । तर, त्यसबीचमा केही मिनेट ज्ञानेन्द्रले आयोजक उद्यमी विनोद चौधरीसँग संवाद गरे । तर, कार्यक्रमलाई उनले सम्बोधन गरेनन् । राष्ट्रपति भण्डारीले भने ऋषिमुनिले तपस्या गरेको देशमा धर्मसंस्कृतिलाई बचाउनुपर्ने बताइन् । सो कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा र भूमिसुधारमन्त्री विक्रम पाण्डेले पनि सम्बोधन गरेका थिए ।
-आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक श्री श्री रवि शंकरले नेपाल सुन्दर भूमि रहेको र नेपालीहरू पनि शान्तिप्रेमी रहेको भन्दै सनातन धर्मलाई अगाडि बढाउन आग्रह गरे ।