२१ वर्षमुनिकाले मदिरा किन्न नपाउने

फागुन ११,काठमाडौं – सरकारले २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने गरी ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ ल्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पारित गरेको नीतिमा सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध गरिएको छ । सरकारी मात्र नभएर सार्वजनिक निकायबाट समेत आयोजना हुने कार्यक्रममा मदिराजन्य पदार्थको प्रयोग र वितरण पूर्ण रूपमा निषेध गर्ने नीतिमा उल्लेख छ । नीतिमा बिहान ५ देखि साँझ ७ बजेसम्म फुटकर मदिरा खरिद बिक्री गर्न नपाइने व्यवस्था छ । फुटकर मदिरा किन्नेले एक दिनमा न्यूनतम एक लिटरभन्दा बढी खरिद गर्नसमेत बन्देज लगाइएको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

सार्वजनिक क्षेत्र एवं कार्यस्थलनजिक मदिरा उत्पादन र बिक्री वितरण गर्न नपाउने व्यवस्था पनि नीतिमा छ । सार्वजनिक, शैक्षिक, पर्यटकीय, खेलकुद, मनोरन्जन स्थलहरू, निश्चित धार्मिक, पुरातात्त्विक, ऐतिहासिक स्थलहरू र सरकारले आवश्यक ठानेका अन्य स्थानलाई मदिरा उत्पादन, बिक्री वितरण र सेवन निषेधित क्षेत्र तोक्ने व्यवस्था गरिने भएको छ । मदिरा बोतलको न्यूनतम ७५ प्रतिशत भागमा यसको सेवनले भएको कलेजोको सिरोसिस, मुटुरोग आदिको चित्रसँगै ‘मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक छ’ जस्ता चेतावनीमूलक सन्देश हुनुपर्ने छ । यस्तै बोतलमा मदिरा उपभोग गर्ने अन्तिम मिति र यसको गुणस्तरसमेत उल्लेख गरिनुपर्ने छ ।
छापा, विद्युतीय सञ्चार माध्यम, इन्टरनेट, ईमेल, होर्डिङ बोर्डलगायत कुनै पनि सञ्चारमाध्यम वा तरिकाबाट मदिराको उत्पादन, बिक्री वितरण र सेवन प्रवद्र्धन, बजारीकरण गर्न नपाइने व्यवस्था नीतिमा गरिएको छ । यस्ता सूचना, चित्र, सन्देश, सामग्री, विज्ञापन, प्रायोजन मात्र नभई समाचार प्रकाशन र प्रसारण कार्यलाई समेत निषेध गरिएको छ । नीतिमा चलचित्र, टेलिफिल्म, नाटक जस्ता कुनै पनि मनोरन्जनात्मक/समाचारमूलक वा प्रायोजनात्मक श्रव्यदृश्य कार्यक्रममा कलाकारको प्रयोग वा ब्रान्ड, लोगो अन्य परिचय झल्कने गरी मदिराको प्रवद्र्धन हुने गरी अभिनय वा विज्ञापन वा प्रचारप्रसार गर्नसमेत निषेध गरेको छ ।