तेल चोर्ने चालकलाई ‘उन्मुक्ति’ दिन दबाब

फागुन ११,काठमाडौं – पेट्रोलियम पदार्थ ढुवानी गर्ने करिब सात सय चालक ट्यांकर मालिक भएका छन्। तिनै चाकलले तेल चुहावट रोक्न नेपाल आयल निगमले संशोधन गरेको ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३’ प्रति असहमति जनाएका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

ट्यांकर चालकले घुमाउरो पाराले तेल चोरे पनि कारबाही हुनुहुँदैन भन्ने माग अघि सारेका हुन्। शुक्रबार ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए फागुन १५ देखि ढुवानी रोक्ने धम्की दिएका छन्। ट्यांकर चालकले अव्यावहारिक माघ तेस्र्याएर निगमलाई घुँडा टेकाउने दाउमा छन्। शुक्रबार ढुवानी नहुँदा उपत्यकाका उपभोक्ताले तेलका लागि लाम बस्नुपरेको छ।
संशोधित विनियमावलीमा पेट्रोलियम पदार्थको परिमाणमा ट्यांकरले लोड भएको भन्दा परिमाणको ०.२५ प्रतिशतभन्दा बढी फरक भए प्रचलित खुद्रा मूल्यको दुई गुणा मूल्य ढुवानीकर्ताबाट असुल गरी चालकलाई ढुवानी कार्यमा बन्देज लगाउन सकिने व्यवस्था छ। यो व्यवस्था कार्यान्वयन गर्न नदिने उनीहरूको योजना छ।
पेट्रोलियम पदार्थ चुहावट नियन्त्रण गर्न निगमले कडाइ गरेपछि ट्यांकर चालकले तेल चोरे पनि कारबाही गर्न हुँदैन भन्ने माग अघि सारेको आयल निगमका एक अधिकारीले बताए। ‘चालकले बीच बाटोमा तेल बिक्री गरेर कमाउँदै आएका छन्,’ ती अधिकारीले भने, ‘चोरी नियन्त्रण गर्न निगमले गरेको विनियमावली संशोधनप्रति असहमति जनाउनु भनेको सधैं तेल चोर्न पाउँ भन्ने नै हो।’
निगमले अहिले ल्याएको विनियमावलीमा एक लिटर तेल कम भए दुई लिटरको मूल्य तिर्नुपर्छ भन्ने व्यवस्था छ। भारतको नाकाबन्दीका बेला पेट्रोलियम पदार्थ बीच बाटोबाटै कालोबजारीमा बिक्री भएपछि आगामी दिनमा यस्तो समस्या आए कारबाही गर्न निगमले यस्तो व्यवस्था गरेको हो। भारत र नेपालमा पेट्रोलियम पदार्थको मूल्य धेरै अन्तर छ। अहिले भारतमा भन्दा नेपालमा डिजेल प्रतिलिटर २४ रुपैयाँ ३३ पैसा र पेट्रोल १७ रुपैयाँ ७४ पैसा सस्तो छ। १२ हजार लिटरमा २ सय लिटर मात्र बेच्यो भने पनि नेपालको मूल्य कटाएर करिब ४८ सय रुपैयाँ एक ट्रिपमै कमाउन सकिन्छ। चालकले सर्ट चुवावट भएको भन्दै परेको मूल्य तिरेर उन्मुक्ति पाउँछ।
तापक्रमका कारण कम भएमा पनि दोब्बर तिर्नुपर्ने व्यवस्था गर्न लागिएको छ। चालकले तापक्रम ट्यांकरको तल्लो भागमा मापन गर्नुपर्ने माघ अघि सारेका छन्। निगमले बीच या उपल्लो भागबाट मापन गर्नुपर्ने प्रस्तावमा मानेका छैनन्। ‘चालकले तल्लो भागमा पानी छ्यापेर चिसो बनाउने गरेका छन्,’ एक पेट्रोलियम व्यवसायीले भने, ‘चालकले फाइदा लिनका लागि निगमको जायज अडानलाई अटेर गरिरहेका छन्।’