वैदेशिक रोजगारीमा खाडी जानेको स्वास्थ्य परीक्षण शुल्क बढ्यो

 

 

 

फाल्गुन ३,काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढेको छ। गल्फ कोअपरेसन काउन्सिल (जिसिसी) ले सदस्य राष्ट्रमा काम गर्न आउने कामदारको परीक्षण शुल्क बढाएको हो।

जिसिसी राष्ट्रका स्वास्थ्यमन्त्रीहरुको आधिकारिक निकाय ‘एक्जुकेटिभ बोर्ड अफ द हेल्थ मिनिस्टर्स अफ काउन्सिल फर कोअपरेसन स्टेट’को बैठकले कामदारको परीक्षण शुल्क १० डलर (झन्डै एघार सय नेपाली रुपैयाँ) बढाउने निर्णय गरेको हो।

जिसिसीमा साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, बहराइन र ओमान गरी गल्फ क्षेत्रका ६ देश सहभागी छन्। जिसिसी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) जस्तै संगठन हो।

यसको सचिवालय साउदी अरबको रियादमा छ। सचिवलायले शुल्क बढेको पत्र नेपाली दूतावासमा पठाइसकेको छ। ती देशमा जाँदा नेपाली कामदारले यसअघि ६० डलर अर्थात् ६ हजार पाँच सय नेपाली रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो।

तर, शुल्क बढेसँगै अब नेपालीले ७ हजार पाँच सय रुपैयाँभन्दा बढी रकम तिर्नुपर्ने हुन्छ। स्वास्थ्य परीक्षणको शुल्क बढेको निर्णयको पत्र परराष्ट्रले स्वास्थ्य मन्त्रालयमा माघ २७ गते पठाएको थियो।