प्राविधिक एआइजीलाई नेपाल प्रहरीको कमान्ड

फागुन ३,काठमाडाैं  – आइजिपी बढुवा विवादपछि सरकारले प्राविधिक एआइजीलाई नेपाल प्रहरीको कमान्ड दिएको छ । प्रहरी अस्पतालका प्रमुख एआइजी डा. दिनेशचन्द्र पोखरेललाई सरकारले निमित्त प्रहरी महनिरीक्षकको जिम्मेवारी दिएको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ।

सोमबार बसेको मन्त्रिपरिष्दको बैठकले प्रहरी नियमावली २०७१ संशोधन गर्दै एआइजी पोखरेललाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिएको हो । यसअघिको नियमावलीमा प्राविधिकलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिन नमिल्ने भएकाले सरकारले नियमावली संशोधन गरी आइजिपी नियुक्तिको टुंगो नलागेसम्मका लागि डा. पोखरेललाई दिने निर्णय गरेको हो । नियमावलीको दफा ४१ को प्रावधानमा प्राविधिकलाई पनि निमित्तको जिम्मेवारी दिन सकिने भन्ने शब्द थपेर डा. पोखरेललाई निमित्तको जिम्मेवारी दिइएको हो ।
जब कमान्डविहीन बन्यो प्रहरी
दिनभरिका अनेक अनुमानपछि साँझ करिब सात बजे बसेको बैठकले डा. पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । त्यसको करिब एक घन्टाअघि आइजिपी उपेन्द्रकान्त अर्यालले प्रहरी मुख्यालय छाडेका थिए ।