निर्वाचन गर्न सरकार अझै अलमलमा

फागुन २,काठमाडौं –आगामी जेठभित्र निर्वाचन सम्पन्न गर्ने गरी यसै साता निर्वाचन मिति घोषणा गर्ने विषयमा सरकार फेरि अलमलमा परेको छ । सरकार तत्काल निर्वाचन मिति घोषणा गरे मधेसी मोर्चालगायत असन्तुष्ट पक्षले निर्वाचनमा भाग नलिने र मिति घोषणा नगरे संविधानले तय गरेको समयसीमा गुज्रँदै गएकाले कस्तो रणीनीति अख्तियार गर्ने भन्ने अन्योलमा परेको हो ।

मोर्चाले संविधान संशोधनअघि निर्वाचन मिति घोषणा भए बहिष्कार गरी आन्दोलनमा जाने चेतावनी दिँदै आएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने तत्काल निर्वाचन मिति घोषणा गर्न दबाब दिँदै आएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

यता, निर्वाचन आयोगले फागुनको पहिलो सातासम्म सरकारले निर्वाचन मिति घोषणा गरे मात्र १ र २१ जेठमा स्थानीय निर्वाचन गर्न सकिने सरकारलाई जानकारी गराइसकेको छ । संसद्को पहिलो दल नेपाली कांग्रेस र तेस्रो दल माओवादी केन्द्रबीच गत साउनमा निर्वाचनका लागि सत्ता गठबन्धन बने पनि अहिलेसम्म निर्वाचनका विषयमा अन्य दलहरूबीच सहमति जुटाउन नसक्दा निर्वाचनको मिति घोषणा हुन सकेको छैन ।

सरकारले निर्वाचन आगोगलाई स्थानीय निर्वाचन १० जेठभित्र गर्ने गरी तयारी गर्न पत्राचार गरेपछि आयोगले भने फागुन पहिलो सातासम्म निर्वाचन घोषणा भए १ र २१ जेठमा गरी दुई चरणमा निर्वाचन गर्न सकिने जनाउदिएको हो । कानुनमन्त्री अजयशंकर नायकले सरकार स्थानीय निर्वाचनको वातावरण बनाउन लागिरहेको दाबी गरे । उनले दलहरूका बीचमा सहमति गर्ने प्रयासमा सरकार लागिरहेको र कुनै न कुनै बिन्दुमा सहमति हुने बताए ।