हट्ने भए टेम्पो र माइक्रोबस

माघ २४,काठमाडौं – राजधानीको ट्राफिक व्यवस्थापन गर्न सरकारले थोरै यात्रु चढ्न मिल्ने टेम्पो र माइक्रोबस हटाउने भएको छ। साना सवारीसाधनलाई धेरै यात्रु चढ्ने ठूला बसले विस्थापन गर्ने योजना बनाएको सरकारले तीन तहमा यसको व्यवस्थापन गर्न लागेको छ। पहिलो चरणअन्तर्गत चैत पहिलो सातादेखि गोंगबु–सिनामंगल रुटका टेम्पो र माइक्रोबस हटाएर त्यहाँ ठूला सवारीसाधन सञ्चालन गरिनेछ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

राजधानीको प्रदूषण र ट्राफिक जाम नियन्त्रण गर्न यातायात व्यवस्था विभागले चरणबद्ध रूपमा सार्वजनिक साना सवारीसाधन विस्थापन गरी ठूला सञ्चालन गर्ने योजना बनाएको विभागका सूचना अधिकारी डा. टोकराज पाण्डेले बताए।
पहिलो चरणमा गोंगबु–सिनामंगल रुटका ३५ टेम्पो र २६ माइक्रोबस हटाइनेछ। ६१ वटा सवारीसाधन हटाई तिनका ठाउँमा १७ वटा ठूला बस सञ्चालन गरिनेछ। यी बस नयाँ बसपार्क, सामाखुसी, जमल, ज्ञानेश्वर, मैतीदेवी, पुरानोबानेश्वर, सिनामंगल हुँदै एयरपोर्टसम्म गुड्नेछन्।
‘काठमाडौं दिगो सहरी यातायात आयोजना’ अन्तर्गत साना सवारी व्यवस्थापन गर्न लागिएको हो। चलिरहेका टेम्पो र माइक्रोबस कम्पनी दर्ता गरेर आए ठूला सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ऋण र १५ प्रतिशत सिड मनी दिने व्यवस्था रहेको जानकारी सूचना अधिकारी पाण्डेले दिए। आयोजनालाई एसियाली विकास बैंक (एडीबी) ले आर्थिक सहयोग गरेको छ।
विभागका अनुसार गोंगबु-सिनामंगल रुटमा यो कार्यक्रम सफल भएपछि राजधानीका अन्य रुटमा पनि साना सवारीसाधन विस्थापन थालिनेछ।
टेम्पो व्यवसायी संघ सिनामंगलका कोषाध्यक्ष नरेन्द्र अधिकारीले सरकारी योजनाको सराहना गर्दै माइक्रोबस सञ्चालक संघ, सामाखुसी यातायात र सिनामंगल सफा टेम्पो संघ मिलेर नयाँ ठूला बस खरिद गर्न कम्पनी दर्ताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।
अहिले देशभर दुई हजार दुई सय १६ माइक्रोबस र दुई हजार पाँच सय २८ टेम्पो सञ्चालनमा छन्। तीमध्ये अधिकांश माइक्रोबस र टेम्पो राजधानीमै छन्। यी दुई प्रकारका साना सवारीसाधनलाई व्यवस्थित गर्दा राजधानीको करिब ३० प्रतिशत ट्राफिकभार कम हुने विभागको विश्वास छ।
सरकारले फागुन १७ गतेदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई देशभरबाटै हटाउने भएको छ। २०७१ फागुन १८ मा राजपत्रमा प्रकाशन गरी सरकारले आउँदो फागुन १७ देखि २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाउने जनाएको थियो।
पुराना सवारीसाधन नवीकरण नगरेका सवारीधनीलाई राजस्व तिराएर त्यस्ता सवारी पत्रु गराउने तयारी विभागको छ। २० वर्ष पुराना सवारीको नवीकरण नहुने र वातावरणमैत्री हरियो स्टिकर नपाउने हुँदा त्यस्ता सवारी स्वतः हट्ने विश्वास विभागले लिएको छ।
विभागका अनुसार काठमाडौं उपत्यकामा मात्र अहिले ९ लाख ६३ हजार ५ सय ८ वटा सवारीसाधन दर्ता भए पनि राजधानीबाहिर दर्ता भएका समेत गरी यहाँ करिब १० लाख सवारीसाधन गुड्छन्। यीमध्ये २० वर्ष पुराना सवारीको संख्या १ लाख ५ हजार ५ सय ६२ छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजधानीमा प्रदूषण र ट्राफिक जाम बढ्नुको मुख्य कारक २० वर्ष पुराना गाडी भन्दै हटाउने निर्णय गरेको थियो। सवारी तथा यातायात व्यवस्था ऐनले सवारी सञ्चालनयोग्य भएनभएको जाँच्न परीक्षण मापदण्ड बनाएको छ।
सवारीको यान्त्रिक स्थिति, लम्बाइ, चौडाइ, उचाइ, बनोट वा स्वरूप, सवारीबाट हुनसक्ने प्रदूषण, सवारी चलाउन सकिने अवधिलाई प्राथमिकता दिई परीक्षण मापदण्ड निर्धारण गरिएको छ। सवारी सञ्चालनयोग्य भएको प्रमाणपत्र दिने क्रममा जाँचपास गर्ने÷नगर्ने, सवारी दर्ता गर्ने÷नगर्ने अधिकार विभागमा निहित भएकाले सोही आधारमा पुराना सवारी हटाउन लागिएको हो।