रद्द गरिएका १ लाख अमेरिकन भिसा अदालतद्वारा फुकुवा

माघ २३,काठमाडौं – अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध आदेशविरूद्ध अमेरिकाको वाशिङ्टन राज्यस्थित सियाटलका एक संघीय न्यायाधीशले शुक्रबार फैसला गरेका छन्। सात मुस्लिम वाहुल देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति ट्रम्पको आदेशलाई सियाटलका न्यायाधीश जेम्स रोबर्टले अस्थायी रूपले राष्ट्रव्यापी स्तरमा रोक लगाएको हो। अब ती सात मुलुकका भिसाधारी यात्रुको अमेरिका प्रवेश गर्ने ढोका खुलेको छ।

ट्रम्प प्रशासनका लागि यो फैसलाले ठूलो झट्का दिएको र ट्रम्प सरकार यस फैसलाका विरूद्ध अपिलको तयारी गर्ने तयारीमा रहेको अमेरिकी मिडियाका जानकारहरू भन्छन्। अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश पश्चात करीब १ लाख भिसाहरू रद्द गरिसकिएको छ।
व्हाइट हाउसले सोही राति एक विज्ञप्ति जारी गर्दै न्यायाधीशको यस आदेश लाई ‘अपमानजनक’ आदेश भन्दै न्यायाधीशको यस आदेश लाई छिट्टै रोक्नुपर्छ ताकि राष्ट्रपतिको कानूनी आदेशलाई पुनः लागू गर्न सकियोस्’ भनेको थियो। व्हाइट हाउसले पछी आफ्नो विज्ञप्तिलाई संशोधन गर्दै ‘अपमानजनक’ शब्द लाई हटाएर पुनः आफ्नो धारणा जारी गरेको थियो। पछिल्लो विज्ञप्तिमा भनीएको छ – ‘हाम्रो विचारमा राष्ट्रपतिको आदेश कानूनी रुपमा सही र उचित छ जुन यो देश र अमेरिकी जनताको सुरक्षाका लागि हो। यस्तो आदेश गर्नु राष्ट्रपतीको संवैधानिक अधिकार हो।’
अदालतको यस आदेशका कारण ट्रम्प प्रसासनलाई अहिलेसम्मकै सबभन्दा ठूलो धक्का लागेको छ। अमेरिकी मिडिया भन्छन्- अदालतको यस अस्थायी रोकबिरुद्ध ट्रम्प प्रशासनले अपिल गर्दै पुनः यात्रुलाई रोक लगाउन सक्छन्। यसका लागि उनले महान्यायाधिवक्तामार्फत सर्वोच्च अदालतमा अपिल गर्न सक्ने सम्भावना छ।
अमेरिकाको गृह मन्त्रालय मानिने डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटीलेले संघीय अदालतको निर्णयलाई पालना गर्ने जनाएको छ। गृह मन्त्रालयका अनुसार यात्रुहरुलाई अमेरिका प्रवेशका लागि पूर्ववत् ब्यवस्था अनुरुप नै कार्य गरीने छ जुन ट्रम्प प्रसासनले लगाएको यात्रु बन्देज अगाडि थियो।