भक्तपुरको जगातीमा आजदेखि सवारी लाइसेन्स वितरण सेवा

 

माघ २, काठमाडौं – यातायात ब्यवस्था विभागले आइतबारदेखि भक्तपुरको जगातीबाट पनि लाइसेन्स वितरणको काम थाल्दैछ । लामो समय तयारी गरेरहेको विभागले आइतबारदेखि स्वयम्भुको ठूलोभर्‍याङपछि जगातीस्थित नयाँ कार्यालयबा पनि सेवा सुरु गर्न लागेको हो ।
कार्यालय खुलेपछि अहिले यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा लाग्ने भीड घट्ने दावी अधिकारीहरुको छ । आफू मातहतको ट्रायल सेन्टर नभएकाले सुरुवातमा यो कार्यालयले लाइसेन्स नवीकरणको काम गर्नेछ । यस्तै लाइसेन्सका लागि अनलाइनमार्फत अावेदन पनि कार्यालयले बुझ्नेछ ।

तर, ट्रायल सेन्टरबिना नै खोलिएका कार्यालय प्रभावकारी नहुने विभागकै अधिकारी बताउँछन् । विभागले केही साताअघि मात्रै लाइसेन्सका लागि अनलाइन आवेदन खुला गरेको छ ।

अब काठमाडौंको चाबहिलमा पनि लाइसेन्स वितरण गर्ने कार्यालय खुल्नेछ । जगातीस्थित कार्यालयको भने आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्ने कार्यक्रम छ ।