उच्च अदालतका ८० न्यायाधीशको नियुक्ति आज नै टुङ्गो लाग्ने

पुष २६, काठमाडौ— उच्च अदालतका ८० न्यायाधीशको नियुक्ति आज नै टुङ्गो लाग्ने सम्भावना देखिएको छ । त्यसका लागि अहिले न्यायपरिषद्को बैठक बसिरहेको छ । परिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नियुक्ति सिफारिसका लागि योग्य उम्मेदवार छनोट सकिसकेको छ ।

यसलाई अब अन्तिम रुप दिन मात्र वाँकी रहेको परिषद् स्रोतको भनाई छ । न्यायपरिषद्मा प्रधानन्यायाधीश सुशीला कार्की अध्यक्ष छिन् ।
त्यस्तै, सदस्यहरूमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश वैद्यनाथ सिंह, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त रामप्रसाद सिटौला, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त पदमप्रसाद वैदिक र कानुनमन्त्री अजयशंकर नायक सदस्य छन् ।
बैठकपछि जिल्ला न्यायाधीशबाट– ३७ जना, नेपाल बार एसोसिएसनबाट– २७ जना तथा –सहसचिव र विशिष्ट श्रेणी– १६ जना (कानुन, न्याय र सरकारी वकिल समूह) जना नियुक्त हुने जनाइएको छ ।
परिषद्ले नियुक्तिका लागि कात्तिक तेस्रो साता व्यक्तिगत विवरण आह्वान गरेर छनोट प्रक्रिया सुरु गरेको थियो । गत मंसिर पहिलो सातासम्म आठ सय योग्य उम्मेदवारले परिषद्मा व्यक्तिगत विवरण (बायोडाटा) बुझाइसकेका छन् ।
संविधानमा ‘जिल्ला न्यायाधीश या वरिष्ठ अधिवक्ताका रूपमा कम्तीमा पाँच वर्ष काम गरेको या अधिवक्ताका रूपमा कम्तीमा १० वर्ष निरन्तर वकालत गरेको या कानुनी क्षेत्रमा अध्यापन–अन्वेषण गरेको या न्यायसेवाको राजपत्रांकित सेवामा कम्तीमा पाँच वर्ष काम गरेको व्यक्ति उच्च अदालतको मुख्य न्यायाधीश या न्यायाधीशमा नियुक्त हुन योग्य भएको मानिने’ उल्लेख छ ।