किन हुन्छ पिसाबथैलीमा पत्थरी ?

डा. सुबोध रेग्मी, युरोलोजिष्ट, सिभिल अस्पताल
पत्थरीको समस्यालाई एउटा उदाहरणसँग जोड्न उचित ठान्छु । एउटा पानीको गिलासमा पानी राखौं । नुनको मात्रा बढाउने, तर पानी नथप्ने हो भने एउटा चरणमा पुगेर नुन घोलिन सक्ने क्षमता हुदैन र क्रिस्टल बन्छ । त्यसैगरी पिसाबमा पनि घोलिएर जाने तत्वको मात्रा बढी हुन थाल्यो र पानीको मात्रा कम हुन थालेमा घोलिन सक्दैन र जम्मा हुन थाल्छ । जसलाई हामी ‘सुपर स्याचुरेसन’ को अवस्था भन्छौं । त्यसपछि क्रिस्टल बन्छ र त्यसले सानो ढुंगाको आकार लिन थाल्छ । ढुंगा बन्ने सम्भावना सबैभन्दा बढी मिर्गौलामा हुन्छ र त्यहाँबाट नै तल झर्न थाल्छ । झरेको ढुंगा पिसाबनली र पिसाबथैलीमा पुग्छ । पिसाबथैली आफैमा पनि ढुंगा बन्न सक्छ ।
पत्थरी हुनसक्ने कारण निकै छन् । तर मुख्यकारण भने पानीको मात्रा कम हुनु नै हो । त्यसरी पत्थरीका बिरामीलाई ज्यादा पानी पिउन सल्लाह दिइन्छ । पत्थरीले संक्रमणदेखि मिर्गौलबाट निस्कासन रोकिने र त्यसबाट मिर्गौला सुन्निँदै जानसक्छ । पछि कालान्तरमा मिर्गौला फेलियर पनि हुनसक्छ । पत्थरी भएका अंगमा इन्फेक्सन भइरहने, पिप जम्मा हुने र कतिपय अवस्थामा घाउको रुप लिने खतरा रहन्छ ।

नेपालमा मिर्गौला असफल हुनुको कारणमा त्यसमा हुने पत्थरी पनि प्रमुख कारकको रुपमा रहेको छ । बेलैमा सचेत भएको भए यस्ता रोगबाट जोगिन सकिन्थ्यो । साथै प्रसस्त पानी पिउनु नै पत्थरीबाट जोगिने उत्तम उपाय हो । दिनमा कम्तिमा साढे २ लिटर पिसाब हुनेगरी पानी पिउनुपर्छ । युरिक एसिडका कारण पनि पत्थरी हुनसक्ने भएकाले नियन्त्रणमा राख्नुपर्छ । युरिक एसिड आफैले पनि पत्थरको रुप लिनसक्छ । पिसाबमा अम्लपना बढेमा पनि पत्थरी हुन्छ ।

मोटोपनाले पिसाबमा अम्ल बढाउँछ । त्यसैले मोटोपना घटाउनुपर्छ । हामीले खानामा प्रयोग गर्ने रातो मासुले पनि अम्लपना बढाउँछ । पत्थरी रोकथामका लागि मसालेदार खाना खाने र सौखिन बानी व्यवहार रोक्नुपर्छ । अक्जरेट भन्ने पदार्थ भएका खानेकुराले पत्थरी बढाउनसक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्छ । उदाहरणका लागि कोल्ड ड्रिङस, चकलेट, काजु र टमाटरमा अक्जरेट हुन्छ । यस्ता खानेकुरा खाँदा विचार गर्नुपर्छ । पत्थरी भएका मानिसमा फेरि दोहो¥याएर पत्थरी हुने भएकाले ज्यादा चनाखो हुनुपर्छ ।
पत्थरी भएकाहरूलाई १० वर्षको अवधिमा फेरि दोहोरिने सम्भावना करिब ५० प्रतिशत हुन्छ । पत्थरीपीडितमध्ये करिब आधाजसो दोस्रोपटक समेत पत्थरीको समस्यामा पर्ने भएकाले हामीले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । पत्थरीको कारण पत्ता लगाएर त्यसको रोकथाममा ध्यान दिइयो भने धेरै हदसम्म जोगिन सकिन्छ । साभार ः स्वस्थ्य खवर पत्रिका