संसद वैठक आज दिउँसो एक बजे बस्दै

 

 

१८ पुस, काठमाडौं । संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि सात पटक अवरुद्ध र तीन पटक स्थगीत भइसकेको संसद वैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ ।

सत्तापक्षले आजको संसद वैठकमा प्रतिपक्षी दलहरुको असहमतिकै बीच संशोधन प्रस्तावलाई टेबुल गर्ने तयारी गरेको छ भने प्रतिपक्षी दलहरुले संसद अवरोधलाई कायम राख्ने जनाउ दिएका छन् । पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षी दलबीच टकराव बढिरहेका बेला आज बस्ने संसद वैठकलाई चासोपूर्वक हेरिएको छ । आज यो समाचार अनलाइन खबरमा छापिएको छ।

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरुले निरन्तर संसदमा अवरोध गरिरहेका छन् । सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म वा स्थगीत गरेर निर्वाचनसम्बन्धी विधेयकलाई अघि नबढाएसम्म संसद वैठक चल्न नदिने प्रतिपक्षी दलहरुको अडान छ । सरकारले भने संविधान संशोधन र निर्वाचन सम्बन्धी विधेयकलाई सँगैसँगै अघि बढाउने तयारी गरेको छ ।

संशोधन प्रस्ताव दर्ता भएदेखि नै सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच सहमतिका लागि पटक(पटक वसेको वैठक परिणाममुखी हुन सकेन । सभामुख ओनसरी घर्तीले प्रमुख दलका नेताहरुबीच सहमतिका लागि गरेका थुप्रै प्रयास पनि असफल भयो ।

संविधानसभाबाट संविधान जारी हुनुपूर्व नै संविधानप्रति विमति राख्दै मधेशमा आन्दोलन गरेको र अहिले पनि आफ्नो माग पूरा नभए आन्दोन गर्ने चेतावनी दिइरहेको मधेश केन्द्रित दलहरुको माग सम्बोधन गर्नका लागि भन्दै मंसिर १४ गते संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको थियो ।

एमालेलगायत प्रतिपक्षी दलहरुले संविधान संशोधनका बुँदा राष्ट्रहितविरीत भएको भन्दै विरोध गरिरहेका छन्