क्षमता विस्तार गर्दै नख्खु कारागार

पुस १७ काठमाडौं — नख्खु कारागार छिट्टै सात सय ५० जना क्षमताको बन्ने भएको छ । भूकम्पका समयमा भत्किएका भवनको पुनःनिर्माण र निर्माणाधीन भवन सम्पन्न भएपछि कारागारको क्षमता बढ्न लागेको हो । अहिले सञ्चालनमा रहेका कम्युनिटी रिह्याब सेन्टर (सिआरसी) र ड्रग्स रिह्याबिटेसन सेन्टर (डिआरसी)को पुनःनिर्माण हुने भएको छ ।
दुवै भवन दुई सय ५० क्षमताका हुनेछन् । गत वर्षदेखि सञ्चालनमा आएको नयाँ भवनको क्षमता एक सय २५ जनाको छ । एक सय जना क्षमताको महिला कारागारको निर्माणसमेत अघि बढेको कारागार प्रमुख टेकबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्माण भइरहेका र हुने क्रममा रहेका भवनको निर्माणपछि यहाँको क्षमता बढ्दै छ । अघिल्लो वर्ष नयाँ भवन नबन्दासम्म कारागार एक सय ५० जना क्षमताको थियो ।’

कारागारमा अहिले छ सय ५५ कैदीबन्दी छन् । मुलुकका अन्य स्थानका कारागारभन्दा सो कारागार अहिले पनि सुविधासम्पन्न भएको प्रशासनको जिकिर छ । अरु कारागारबाट समेत कैदीबन्दी नख्खु कारागारमै सर्नका लागि पहल गर्छन् । अरु जिल्लाका कारागारमा बसेर आएका आन्तरिक प्रशासनका कर्मचारी नख्खु कारागार अरु स्थानका कारागारभन्दा सहज र राम्रो वातावरण भएको बताउँछन् ।

उनीहरु भन्छन्, ‘अरु ठाउँमा भन्दा बस्न पनि सहज छ र अरु आवश्यक कुरा पनि उपलब्ध छन् ।’ भूकम्पका कारण कारागार कार्यालय, सिआरसी र डिआरसी ब्लकमा क्षति पुगेको थियो । कार्यालय भुइँतले भवन बनाएर सारिएको छ ।

दुई तलामा रहेका सिआरसी र डिआरसी ब्लकका कैदीबन्दी अहिले तल्लो तलामा मात्रै बस्दै आएको लेखा अधिकृत मित्रलाल शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘माथिल्लो तलामा बस्न नमिलेपछि अरु कैदीबन्दी पालमा बस्दै छन् ।’ झन्डै एक सय कैदीबन्दी पालमुनि सुत्दै आएका छन् ।

झन्डै पाँच सयको हाराहारीमा कैदीबन्दी हुने गरेकामा नयाँ भवन बनेपछि त्यो सङ्ख्या बढेको छ । नयाँ भवनको सरकारी नियमअनुसारको क्षमता एक सय १५ भए पनि दुई सयभन्दा बढी कैदीबन्दी बसिरहेका छन् ।

जिल्ला अदालत ललितपुरबाट फैसला भएका निर्णयका आधारमा वा अन्य जिल्लाबाट सो कारागारमा कैदीबन्दी यहाँ आइरहेका छन् । मानसिक अस्पताल ललितपुरमा हुनाले गर्दा पनि जिल्लाबाट मानसिक रोगी कैदीबन्दी सरुवा भएर आउने गरेका छन् ।

कारागारमा अहिले मानसिक रोगको अस्पताल बन्ने प्रक्रियासमेत सुरु भएको छ । कारागार प्रमुख केसी भन्नुहुन्छ, ‘अस्पताल बनेपछि कैदीबन्दीको सङ्ख्या अझै बढ्नेछ ।’