‘हाम्रो सान हाम्रो पहिचान, नेपाली टोपी अभियान’

 

पुस १७ काठमाडौं — अंग्रेजी नयाँ बर्षको पहिलो दिन आज नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरुक युवा अभियान नेपालले आज माइतिघर मण्डलामा टोपी लगाई भेला भएर बानेश्वोरसम्म प्रभात फेरीको आयोजना गरी दिवस मनाएको हाे ।

‘हाम्रो सान हाम्रो पहिचान, नेपाली टोपी अभियान’ भन्ने नारासहित राजधानी लगायतका देशका विभिन्न ठाउँमा कार्यक्रम गरी नेपाली टोपी दिवस मनाइएको अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

अभियानले विगत ३ बर्षदेखि मनाउँदै आएको टोपी दिवस यो बर्ष पनि निरन्तरता दिइएको उहाले बताउनुभयो । दिवसका अवसरमा आज नेपाली राष्ट्रिय पोशाक दौरा, सुरुवालका साथै टोपी लाएर धेरैजसो मानिसहरुले दैनिक काम शुरु गरेका छन ।

युवा अभियानले नेपाली दौरा सुरुवाललाई राष्ट्रिय पोशाकको सुचिबाट हटाएको भन्दै आपत्ती जनाएको छ । देश राष्ट्रिय पोशाक विहिन भएको अवस्थामा टोपीलाई राष्ट्रिय पोशाकको पहिचानको सुचिमा राख्न समेत माग गरेको छ ।

टोपी दिवस विभिन्न क्लव, समुह तथा व्यक्तिहरुले आ आफ्नै तरिकाले मनाउन थालेकोले यसलाई नेपालीको पहिचान बनाउन अग्रेजी नया वर्षलाई टोपी दिवसका रुपमा मनाइएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समय पश्चिमा सस्कृतिको प्रयोग बढेपछि नेपाली पहिचान जिवितै राख्न अंग्रेजी नया बर्षको पहिलो दिनलाई युवाहरुले टोपी दिवसका रुपमा मनाउन शुरु गरेका हुन ।