पाटन संग्राहलयमा आर्ट एक्जिविसन

काठमाडौ, मंसिर २६—योङ्ग पिकासोको आयोजनामा सेलेक्टेड ग्य्राण्ड आर्ट एक्जिविसन २०१६ को उद्घाटन भएको छ । पाटन संग्राहलयको प्रांगणमा नेपालका लागि श्रीलंकाली राजदूत डब्लु. एस. परेराले क्यानभासमा चित्र बनाई उक्त एक्जिविसनको उद्घाटन गरेकी हुन् । योङ्ग पिकासोमार्फत तालिम प्राप्त गरेका नयाँ तथा पुराना गरि ५० जना कलाकारहरुको १०० वटा चित्र प्रदर्शनीको लागि राखिएको छ । चित्रकलाको विशेष आकर्षणको रुपमा ४ वर्षको बालिकादेखी ७४ वर्षको उमेरसमूहमा रहेका कलाकारको चित्र समेत गरि प्रदर्शनीको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन कार्यक्रममा हेल्पिङ सोसाइटि नेपालका अध्यक्ष डा निर्मल विष्ट, साहित्यकार साक्य सुरेन, नेपाल एकेडेमीका प्राज्ञ ज्योतिप्रकाश लगायत चित्रकार, कलाकार, पत्रकारहरुको उपस्थिति भएको थियो । कार्यक्रममा बोल्दै नेपालका लागि श्रीलंकाली राजदूत परेराले नेपाल र श्रीलंका दुवै देश कलामा अत्यन्त धनी रहेका र यसको संरक्षणका लागि लाग्नुपर्ने बताइन् । आफु राजदूत भएपश्चात धेरै यस्ता क्षेत्रहरुको भ्रमण गरेको तथा नेपाल तथा श्रीलंकाको कलाको विकासका लागि आफू तथा श्रीलंकाको राजदूतावासले सक्दो सहयोग गर्ने उनको भनाइ थियो । यस्तो प्रदर्शनी श्रीलंकामा समेत गरि कला साटासाट समेत गर्न सकिने उनको भनाइ थियो ।
प्रदर्शन गरिएका चित्रहरुमध्ये विशेष आकर्षणको रुपमा ७४ वर्षिय सुसिल कुमार ढुंगेलको चित्र रहेको थियो । नेपाल सरकारका पूर्व उपसचिव तथा मनाङ्ग लगायत विभिन्न जिल्लामा स्थानिय विकास अधिकारी समेत भएर सेवानिवृत्त भएका उनले रिटायर्ड लाइफमा नै चित्रकला सिकेर चित्र बनाउँन शुरु गरेको बताए । यसैगरि तथा एलकेजी मा अध्ययनरत ४ वर्षिया आर्शिया देशारको चित्रले उद्घाटन कार्यक्रममा उपस्थित अतिथी तथा दर्शकहरुको मन तानेको थियो । आयोजक संस्थाका निर्देशक अजय देशारले ललितकलाको राजधानी ललितपुरमा छरिएर रहेका कलाकारलाई एकतृत गर्दै उनीहरुमा रहेको कलाकारिता निखार्दै योङ्ग पिकासो अघि बढिरहेको जानकारी दिनुभयो ।
उद्घाटनपश्चात्  प्रदर्शनमा राखिएको चित्रहरु विक्रिमा समेत राखिएको छ । सो विक्रीबाट आएको रकममध्ये २५ प्रतिशत रकम ललितपुरको घ्याम्पेडाडाको नमूना बस्ती पुर्ननिर्माण  निर्माण सहयोग गरिने आयोजक संस्थाकी कार्यक्रम संयोजक सितु मास्केले बताइन् । सिमान्तिकृत र अल्पसंख्यक पहरी र नगरकोटी जातिको वस्ति रहेको उक्त क्षेत्रमा भुकम्पले ध्वस्त बनाएकोले उक्त क्षेत्रमा ४० घर तथा विशेष विविधताको बस्ति विकासमा सहयोग गरिने कार्यक्रममा चित्रहरुको विक्रीबाट आएको रकमले केही सहयोग गर्ने उनको भनाइ थियो । शुक्रबार उद्घाटन भएको उक्त आर्ट एक्जिविसन ५ दिनसम्म चल्नेछ ।