कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता एउटै मञ्चमा

मंसिर १८,काठमाडौं – एमाले उपाध्यक्ष गौतमले संविधान उल्लंघन गर्दै संशोधन प्रस्ताव दर्ता भएको भन्दै परास्त गरेरै छाडिने बताएका छन् । ‘अदालतले पनि सरकारको प्रस्तावलाई परास्त गर्छ र जनसागरले पनि,’ उनले भने, ‘जबसम्म फिर्ता हुँदैन, तबसम्म संसद् अवरुद्ध पनि कायम रहन्छ ।’ इतिहासमा पनि पहाड र तराई मिलेर राज्य बनेका प्रसंग कोट्याउँदै गौतमले राष्ट्रहितविपरीत अहिले तराई अलग गर्ने षड्यन्त्र रहेको बताए । ‘पहाड र तराईको अत्यन्तै घनिष्ट सम्बन्ध रहँदै आएको छ, आर्थिक र सामाजिक हिसाबले निकै महत्व छ । यस्तो अवस्थामा सिंगो तराईलाई अलग गरेर तराई प्रदेश घोषणा गर्ने, राज्य घोषणा गर्ने र अलग गर्ने षड्यन्त्र भएको छ, तसर्थ यस प्रस्तावलाई फिर्ता लिन बाध्य पारिनेछ,’ गौतमले भने ।
यसैबीच, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पार्टी अनुशासनभन्दा पनि माथी राष्ट्र र जनताका लागि अखण्ड ५ नम्बर प्रदेशको पक्षमा आफू उभिएको स्पष्ट पारे । ९० प्रतिशतको सहभागितामा बनाएको संविधान कार्यान्वयनतर्फ जानुको सट्टा १० प्रतिशतको आन्दोलनमा अलमलिनु हिसाब–किताब गर्न नजान्नु भएको उनको भनाई थियो । ‘शान्ति, स्थिरता र विकास आजको मूल आवश्यकता हो, जसका लागि संविधान कार्यान्वयनको खाँचो छ, तर १० प्रतिशतले भाँड्ने र उनीहरूका कुरा लागू गर्ने हो भने ९० प्रतिशतले धुलो खेलाएर बस्ने ?,’ रायमाझीले प्रश्न गरे, ‘कसलाई चित्त बुझाउन कसका लागि यो प्रस्ताव ल्याइएको हो ?’ उनले राष्ट्र र राष्ट्रियताका लागि यस प्रस्तावविरुद्ध उभिँदा पार्टी फेरबदलको चर्चा चले पनि त्यो सत्य नभएको स्पष्ट पारे । ५ नम्बर प्रदेश पहिचान र सामथ्र्यका हिसाबले निकै महत्वपूर्ण रहेको विश्लेषण गर्दै उनले विवाद नभएको ठाउँमा विवाद सिर्जना गरेर मुलुकलाई मुठभेडतर्फ लैजान खोजिएको भन्दै सरकारले प्रस्ताव फिर्ता लिनुपर्ने बताए ।
त्यसैगरी, नेपाली कांग्रेस नेता चन्द्र भण्डारीले ५ नम्बर प्रदेशमा जबर्जस्ती विवाद सिर्जना गरिएको भन्दै विखण्डन हुन नदिन आन्दोलनमा होमिएको बताए । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री नभएसम्म नेपाल बन्न नसक्ने भन्दै देशमा राष्ट्रवादी नेताको खाँचो रहेको पनि बताए । संघीयता बाधक हो भने जनमत संग्रहबाट टुंग्याउनुपर्ने उनको भनाई थियो ।
आजको नया पत्रिका दैनिकमा समाचार छापिएको छ ।