सुनजस्तै पदार्थ भेटिएपछि मेलम्चीको काम रोकियो

मंसिर १८,काठमाडौं –  मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स स्थान अम्बाथानमा पहाड खन्दा ढुंगामा मिसिएको पहेँलो पदार्थ फेला परेको छ । स्थानीयले सो पदार्थलाई सुन हुन सक्ने आशंका गरेका छन् ।
हेडवक्र्सको काममा रहेका इटालियनले पहेँलो कण मिसिएको ढुंगालाई लुकाएर धमाधम झोलामा हाल्न थालेपछि विषय बाहिर आएको हो । इटालियन कामदारले पहेँलो रंगका ढुंगा झोलामा हालेपछि स्थानीयले सुन भेटिएको हल्ला चलाएका थिए । सुन भएको पहाड खन्न पाइँदैन भन्दै अम्बाथानवासी हेडवक्र्स स्थानमा पुगेपछि खानेपानीको हेडवक्र्स साइटको काम रोकिएको छ । त्यस्तो पहेँलो पदार्थ अम्बाथानवरिपरि धेरै ठाउँमा पाइने गरेको स्थानीयले बताए । सुनजस्तै पहेँलो पदार्थ फेलापरेपछि हेडवक्र्सको पहाड खन्ने काम शुक्रबारदेखि बन्द भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
स्थानीयको एक समूहले सुनको पहाड नखन्न भनेपछि खानेपानी आयोजनाले सो स्थानमा काम बन्द गरेको मेलम्ची खानेपानी बोर्डका इन्जिनियर लक्ष्मण रायमाझीले जानकारी दिए । ‘स्थानीयले दबाब दिन थालेपछि हेडवक्र्सको पहाड खन्ने काम रोकेका छौँ,’ उनले भने । पहेँलो पदार्थ मिश्रित ढुंगा परीक्षणका लागि काठमाडौं ल्याइसकेको उनले बताए । परीक्षणको लागि ढुंगाको स्याम्पल खानी तथा भूगर्भ विभागमा पठाउन लागेको उनले जनाए । आजको नयाँपत्रिकामा खबर छापिएको छ ।
सुन हो वा अन्य धातु हो भन्ने पत्ता लाग्न आइतबारसम्म कुर्नुपर्ने उनले प्रस्ट्याए । ‘हेडवक्र्समा कुनै उपकरण नभएकोले हामीले केही भन्न सकेनौँ,’ उनले भने, ‘तर, हाम्रो विचारमा त्यो पदार्थ सुन नहुन सक्छ ।’ ढुंगामा बालुवाको लेयर फेला परेको हेडवक्र्समा कार्यरत इन्जिनियरको बुझाइ छ । हेडवक्र्स साइटमा सुरक्षा व्यवस्था कडा पारिएको मेलम्ची खानेपानी आयोजनाको सुरक्षा विभाग हेरिरहेका भूपू डिएसपी होमजंग चौहानले जनाए ।