ओलीद्वारा प्रचण्डलाई रुखो जवाफ ‘तपाईसँग बोल्न त के, अनुहार हेर्न पनि मन छैन’

मङ्सिर १६, काठमाडौं –  संविधान संशोधनको विरोध गर्दै एमाले सांसदले व्यवस्थापिका संसदमा उभिएर अवरोध गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पल्याकपुलुक हेरिरहे । प्रचण्डको सामुन्नेमै उभिएका थिए एमाले अध्यक्ष केपी ओली ।

सभामुखले बैठक स्थगित भएको घोषणा गर्नासाथ प्रधानमन्त्री प्रचण्ड विपक्षी दलका नेता केपी शर्मा ओली भएतिर अघि बढे । र, त्यहीँ सम्वाद सुरु भयो प्रचण्ड र ओलीबीच ।

आपसमा दुरी बढ्दै गइरहेका बेला ओली र प्रचण्डवीच के कुराकानी भयो ? त्यसबेला नजिकै रहेका एमाले सांसद रविन्द्र अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डले ओलीलाई ‘बसेर छलफल गरौं’ भन्ने प्रस्ताव राखेका थिए ।

तर, एमाले अध्यक्ष ओलीले ‘तपाईसँग बोल्न त के, अनुहार हेर्न पनि मन छैन’ भन्ने रुखो जवाफ दिएका थिए । ओलीले त्यसोभन्दा नजिकै सुनिरहेका सांसदहरु भने हाँसेका थिए ।

लगत्तै प्रधानमन्त्रीले समस्या समाधान गर्न आफू गम्भीर रहेको बताए । जवाफमा ओलीले भने- ‘त्यसो हो भने तीनवटै चुनाव गर्न लाग्नुस् ।’