यस्तो छ आइतबार संसदमा दर्ता हुने संबिधान संशोधन विधेयक 

मङ्सिर ११, काठमाडौँ – सरकारले संघीय प्रदेशको सीमांकन, नागरिकता, राष्ट्रिय सभाको प्रतिनिधित्व र राष्ट्रिय भाषाको विषयलाई समेटेर संविधन संशोधन मस्यौदा तयार गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले मस्यौदालाई अन्तिम रूप दिएको हो ।

संशोधनको मस्यौदालाई अन्तिम रूप दिइएको कांग्रेस नेता एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जनाए । शनिबारसम्म राप्रपासहित साना दल र सत्तारूढ कांग्रेस–माओवादी केन्द्रभित्रबाटै आएका असन्तुष्टि मेटाउने प्रयास गर्ने र आइतबार विधेयक दर्ता हुने लेखकले जनाए । शुक्रबारै विधेयक दर्ता गर्ने तयारी भए पनि सत्तारूढ पार्टीभित्रकै असन्तुष्टि मेटाउन सरकारले थप दुई दिन प्रयास गर्न लागेको हो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार प्रस्तावित मस्यौदामा केही पहाडी जिल्ला र भागलाई छुट्टयाएर नवलपरासीदेखि बर्दियासम्मको भागलाई ५ नम्बर प्रदेश बनाउने गरी संशोधन गर्न सत्तारूढ दलभित्र समझदारी बनेको छ । उनका अनुसार प्रदेश नम्बर ५ अन्तर्गतका पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुमको पूर्व भाग, रोल्पा र प्यूठानलाई प्रदेश नम्बर ४ मा राख्ने सत्तारूढ दलबीच समझदारी छ ।

राष्ट्रिय सभाको प्रतिनिधित्वमा सबै प्रदेशबाट ५ प्रतिनिधित्व सुनिश्चित गरी बाँकी ३ मा जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था गरिने मस्यौदामा उल्लेख छ । संविधानमा प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्तिसहित ८ जना निर्वाचित हुने व्यवस्था छ ।

भाषाको विषयमा भाषा आयोगले दिएको सिफारिसअनुसार सरकारले निर्णय गर्ने र त्यस्तो निर्णयलाई अनुसूचीमा राख्ने गरी संशोधन गरिने भएको छ ।

नगारिकताका सवालमा वैवाहिक अंगीकृत महिलालाई नागरिकता दिने तर नागरिकता पाउनु अघि पहिले नागरिक रहेको मुलुकको नागरिकता त्यागेको हुनु पर्ने संशोधनमा उल्लेख छ ।

प्रमुख प्रतिपक्षी एमालेले यी चारै विषयमा आपत्ति जनाउँदै प्रस्तावित संशोधन विधेयकलाई ‘राष्ट्रघात’को संज्ञा दिएको छ । ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला र भाग अलग्याउने प्रस्तावमा भने सत्तारूढ दलभित्रै समेत असन्तुष्टि छ । ५ नम्बर प्रदेशबाट प्रतिनिधित्वबाट गर्ने कांग्रेस, माओवादी केन्द्रका प्रतिनिधिले समेत यो प्रस्तावको विरोध गरेका छन् । असन्तुष्टि साम्य पार्न कांग्रेस र माओवादी दुवैले शनिबार आ–आफ्नो पार्टीभित्र छलफल गर्ने भएका छन् ।

संशोधन मस्यौदामा सहमति जुटाउन मधेसी मोर्चाका नेताहरूसँग पनि छलफल गर्ने जनाइएको छ । शुक्रबारको बैठकमा श्रेष्ठले मधेसी मोर्चाको सहमतिबेगर संशोधन विधेयक लैजानुको कुनै अर्थ नहुने बताएका थिए । उनको यो अडानपछि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मोर्चासँग सहमतिका लागि शनिबार नै छलफल गर्ने बताएका थिए ।

‘अंगीकृत नागरिकता पाउने व्यक्तिलाई राष्ट्रपतिलगायत उच्च राजनीतिक र प्रशासनिक पदमा योग्य हुने गरी संशोधन प्रस्ताव ल्याउन खोजिएको भन्ने एमालेको प्रचार सत्य नरहेको’ मन्त्री लेखकले बताए । एमालेको अवरोधबीच पनि संशोधन प्रस्ताव दर्ता गर्नुहुन्छ भन्ने प्रश्नमा लेखकले भने, ‘संविधान संशोधन गरेर निर्वाचनमा जाने सरकारको एजेन्डा हो । दर्ता भएपछि क–कसका कस्ता प्रतिक्रिया आउँछन् त्यसपछि पनि छलफल गरेर अघि बढ्न सकिन्छ ।’

  • ५ नम्बर प्रदेशका पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुमको पूर्व भाग, रोल्पा र प्यूठानलाई प्रदेश नम्बर ४ मा राख्ने
  • सबै प्रदेशबाट ५ जना सुनिश्चित हुने गरी जनसंख्याका आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व गरिने
  • वैवाहिक अंगीकृत महिलालाई नागरिकता दिने तर नागरिकता पाउनु अघि पहिले नागरिक रहेको मुलुकको नागरिकता त्यागेको हुनु पर्ने –– भाषा आयोगले दिएको सिफारिसअनुसार सरकारले निर्णय गर्ने र त्यस्तो निर्णयलाई अनुसूचीमा राख्ने गरी संशोधन गरिने भएको छ

प्रमुख प्रतिपक्षी एमालेले संशोधन विधेयकलाई लिएर आन्दोलन गर्ने चेतावनी दिए पनि सरकार भने संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चालाई विश्वासमा लिएर संशोधन विधेयक दर्ता गर्ने तयारीमा जुटेको हो । ‘संशोधन गर्ने विषयमा सबैका आ–आफ्ना अडान र धारणा हुन्छन्, सबैलाई सबै कुरामा चित्त नबुझ्न सक्छ,’ लेखकले भने, ‘तर संशोधन विधेयक दर्ता गराउने विषयमा मोर्चाको सहमति छ ।’

मस्यौदामा मधेशका भूभागलाई ५ प्रदेशले छुने गरी प्रस्ताव गरिएको छ । मधेशी मोर्चाले भने तीन प्रदेश मात्र हुनु पर्ने माग गरेका छन् ।

मोर्चामा आबद्ध मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले प्रक्रियामा आफूहरूको सहमति रहेको बताए । ‘कांग्रेस, माओवादी केन्द्र र हाम्रो बीचमा सहमति निर्माण गरेर विधेयक लान सकिए हामीलाई स्वामित्व लिएर अघि बढ्न सहज हुन्छ । त्यसपछि संसद्मा विधेयक पास र फेलको जस/अपजस हामी नै लिन्छौं भन्दै आएका छौं,’ यादवले भने, ‘भएन भने पनि प्रक्रियामा हाम्रो सहमति छ ।’ उनले विषयमा सहमति हुन नसकिए संशोधन प्रस्तावमार्फत सच्याउन कांग्रेस–माओवादी तयार हुनुपर्ने बताए । कान्तिपुरबाट

बालुवाटार बैठकमा सरकारले संविधान संशोधनको प्रस्ताव अघि बढाउन संवैधानिक रूपमा मिल्ने कि नमिल्ने भन्ने विषयमा पनि बहस भएको थियो । एमालेले संविधानको धारा २७४ ले संविधान संशोधनको विधेयक अघि लैजान नमिल्ने बताएपछि यस्तो बहस सुरु भएको हो । संविधानले संघीय प्रदेशको सीमाकंनको विषयमा प्रदेश सभाको सिफारिसमा संशोधन गर्न सकिने व्यवस्था गरेको छ । तर, सत्तारूढ कांग्रेस र माओवादीले प्रदेश सभाको गठन नभइसकेको अवस्थामा राजनीतिक निर्णयबाट अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् ।