यसरी हुन्छ उपत्यकामा मेट्रो रेल सम्भव

मङ्सिर ११, काठमाडौँ –उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ। बेलायतको मेट्रो रेल (लन्डन अन्डरग्राउन्ड)सँग सम्बन्धित एउटा परियोजनामा आबद्ध भइसकेका नेपाली इन्जिनियरले उपत्यकाभित्र मेट्रो रेलको सम्भावनाबारे अध्ययन गरी जमिनमुनि मेट्रो रेल सम्भव भएको दाबीसहित प्रतिवेदन तयार गरेका छन्। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

माटोसम्बन्धी इन्जिनियरिङमा टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधि उपाधि हासिल गरेका डा. विनोदलाल अमात्यले भने, “काठमाडौँको माटो कमजोर छ भन्ने हल्लामात्र हो । यहाँको माटोमुनि मेट्रो रेल सञ्चालन गर्न सकिन्छ । त्यो सम्भव छ । ”
उनले भूकम्प र पराकम्पनका कारण मेट्रो रेल जोखिम हुन्छ भन्नेहरू पनि उत्तिकै रहेको बताउँदै थपे, ‘उपत्यकामा जमिनभन्दा जमिनमुनि मेट्रो रेल सञ्चालन गर्दा जोखिम रहँदैन।’
उनका अनुसार बसमा प्रतिघण्टा प्रतिलेन आठ हजार यात्रुले यात्रा गर्न सक्छन्, तर मेट्रो रेलमा प्रतिघण्टा प्रतिलेन २५ देखि ५० हजार यात्रुले यात्रा गर्न सक्ने भएकोले मेट्रो रेल अनिवार्य ठानिएको छ। उनले काठमाडौं, ललितपुर र भक्तपुरका घना बस्तीमा मेट्रो रेलको निर्माण सुरूङ मार्गबाट गर्न सकिने बताए।
बेलायतमा कार्यरत सिभिल इन्जिनियर डा. अमात्यले प्रथम चरणअन्तर्गत भृकुटीमण्डपबाट पूर्वमा थिःमि भएर बनेपासम्म (२५.५ किलोमिटर) र साँखुसम्म (१७.५ किलोमिटर), दोस्रो चरणअन्तर्गत पश्चिममा कलङ्की भएर थानकोटसम्म (११ किलोमिटर), तेस्रो चरण अन्तर्गत दक्षिणमा पाटन–सातदोबाटो हुँदै थेचोसम्म (२१ किलोमिटर) र चौथो चरणअन्तर्गत उत्तरमा बाँसबारी हुँदै बुढानिलकण्ठसम्म (नौ किलोमिटर) सुरुङमार्गबाट मेट्रो रेल नेटवर्कको निर्माण गर्न सकिने बताए।
त्यसैगरी, कलङ्कीबाट कोटेश्वर–बौद्ध जोड्ने सुरूङमार्ग (१५ किलोमिटर)को हुने र सातदोबाटोबाट बाँसबारी जोड्ने सुरूङमार्ग १२ किलोमिटरको हुने उनको अध्ययनको निचोड छ ।
उनका अनुसार उपत्यकाभित्र कुल १८३ किलोमिटर मेट्रो रेल सञ्चालन गर्न सकिन्छ र त्यसमध्ये ७७ किलोमिटर सुरूङमार्ग, १७ किलोमिटर भू–सतह मार्ग र एकसय किलोमिटर आकाशे पुल (इलेभेटेड) निर्माण गर्न सकिन्छ।
“काठमाडौँको माटोको अध्ययन गर्दा उपत्यकाको मध्य र दक्षिण भूभागमा कालिमाटी र उत्तरी भूभागमा बालुवा धेरै पाइएको छ। सतही जमिनको १० देखि १५ मिटरमुनिको माटो खुकुलो बालुवा अनि नरम माटोको समिश्रणबाट बनेको बलौटे माटो छ। काठमाडौँको सतही जमिन इन्जिनियरिङ हिसाबले त्यति सबल माटो होइन’, उनले भने, “उपत्यकाको सतही जमिनको २० मिटरमुनिको गहिराइमा कालिमाटी छ जुन भार वहनको दृष्टिकोणले उत्तम हुन्छ। कालिमाटी टनेलिङ गर्न पनि ज्यादै उपयुक्त माटो हो।’
२० वर्षमा निर्माण सम्पन्न हुनसक्ने परियोजनाको कुल लागत चार खर्ब ७१ अर्ब रुपियाँ लाग्नसक्ने अनुमान उनले गरेका छन्। उनका अनुसार एक किलोमिटर टनेल खन्न करिब चार अर्ब रुपियाँ लाग्न सक्छ।