प्रकाशन व्यवसायमा सोचेर मात्रै लगानी गर्नुपर्छ

gopal

प्रकाशन व्यवसाय कस्तो हो ?
पुस्तक प्रकाशन तथा बिक्रीवितरण गर्नु नै प्रकाशन व्यवसाय हो । नेपालमा सुरुमा जनक शिक्षा सामग्री केन्द्रले गथ्र्यो । निजीको उपस्थिति थिएन । तर, पछि जब निजी विद्यालय स्थापना भयो, सँगै निजीक्षेत्रका प्रकाशन पनि सुरु भए । प्रकाशन कम्पनीले पाठ्यक्रमभन्दा बाहिरका साहित्यिक, धार्मिक, जीवनीलगायत पुस्तकविना अनुमति प्रकाशन गर्न पाउँछन् । तर, विद्यालय तथा क्याम्पसहरूमा पढाइ हुने पाठ्यक्रमअनुसारका पुस्तक प्रकाशनका लागि ‘पाठ्यक्रम विकास केन्द्र’बाट स्वीकृति लिनुपर्छ । केन्द्रले अनुमोदन गरेपछि मात्रै प्रकाशन तथा बिक्रीवितरण योग्य हुन्छ ।

अहिले यसको व्यावसायिक अवस्था कस्तो छ ?
प्रकाशन व्यवसायको अवस्था देखिएजस्तो राम्रो छैन । अहिलेको अवस्था हिजोभन्दा कमजोर छ । खासगरी प्रविधिको विकास र पढ्ने बानीको ह्रासले प्रकाशन व्यवसाय उत्साहप्रद हुन सकेको छैन । खस्किँदो अवस्थामा छ भन्दा पनि हुन्छ । अहिलेका बालबालिका तथा युवा इन्टरनेटबाटै पढ्ने गर्छन् । पुस्तकमा भन्दा बढी गुगलमा रमाउँछन् । यसले हाम्रो व्यवसाय घटाएको छ । बाध्यात्मक रूपमा मात्रै पुस्तक किन्ने चलन छ । बजारमा मिडियाले कुनै पुस्तकको चर्चा गरिदिन्छ । यसले गर्दा प्रकाशनगृहको अवस्था उत्साहप्रद होलाजस्तो देखिन्छ । तर, देखेजस्तो छैन ।

यो व्यवसायका मुख्य समस्या के–के हुन् ?
जथाभावी पुस्तक प्रकाशन हुन्छन् । दुईवटा पुस्तक प्रकाशन गरेर प्रकाशक हौँ भन्दै हिँड्ने प्रवृत्ति बढेको छ । प्रकाशनका लागि कुनै क्राइट एरिया नै बनाइएन । लेखक कस्तो चाहिने ? कति पुस्तक निकाल्नैपर्ने ? कस्तो पुस्तक हुनुपर्ने ? कसले कस्ता–कस्ता पुस्तक प्रकाशन गर्न मिल्ने ? यस्ता कुरामा कुनै नियमन नै छैन । यसले गर्दा व्यवसायलाई अव्यवस्थित र अमर्यादित बनाएको छ । यहाँ श्रीमतीले लेख्ने अनि श्रीमान् प्रकाशक हुने चलन छ । हाम्रो व्यवसायको लागत पनि बढी छ । काठमाडौंमा प्रकाशन गरेर देशका कुनाकाप्चामा पुर्‍याउनुपर्छ । यस्ता धेरै समस्या छन् ।

यो व्यवसायको अवसर तथा फाइदा के–के हुन् ?
प्रकाशन व्यवसायमा राम्रो आम्दानी हुन्छ भन्ने भ्रम छ । यहाँ प्रकाशक थपिएका थपिएकै छन्, तर बजार उस्तै छ । जुनसुकै व्यवसायमा पनि अवसर र फाइदा हुन्छ । तर, प्रकाशन व्यवसायमा अहिलेको अवस्थामा कुनै अवसर र फाइदा छैन ।

book-2

नयाँ लगानीको सम्भावना छ ?
नयाँ लगानीको सम्भावना छैन भन्दा फरक पर्दैन । प्रतिफल आउने सम्भावना कम देखिन्छ । देश यही हो, पाठक यिनै हुन्, विद्यार्थी संख्या उत्ति नै हो, तर प्रकाशक बढिरहेका छन् । त्यसैले अहिले भएका प्रकाशनगृह नै धेरै छ । कसैले लगानी उठाउँछु भनेर खोल्छ भने दिवा सपना मात्रै हो । तिरन्तरता दिन सक्दैनन् । आउँछन्, हराउँछन् ।

नयाँ लगानीकर्ताले के–कस्तो तयारी गर्नुपर्छ ?
सबैभन्दा पहिला कुन खालको प्रकाशन सुरु गर्ने ? लेखकको हैसियत के हो ? बजार लिन सक्छ कि सक्दैन ? पाठ्यक्रमभित्र पर्छ कि पर्दैन भन्नेलगायतका विषयमा अध्ययन तथा समीक्षा गुर्नपर्छ । सबै कुरा बुझेर मात्रै लगानी गर्नुपर्छ । अहिलेको अवस्थामा एउटा सिरिज निकाल्न कम्तीमा १–२ करोड लगानी गर्नैपर्छ । कागजको भाउ उच्च छ । तर, पुस्तकको मूल्य प्रतिपेज १ रुपैयाँ ४५ पैसाभन्दा बढी राख्न मिल्दैन । यसले गर्दा लागत बढी हुने, तर मुनाफा नआउने सम्भावना छ । त्यसैले नयाँ लगानीकर्ताले प्रकाशन व्यवसायमा सोचेर मात्रै लगानी गर्नुपर्छ ।

सरकारको सहयोग सन्तोषजनक छ ?
यस व्यवसायमा निजी क्षेत्र मात्रै छैन, सरकार पनि छ । यसर्थ, सरकारको सहयोग नहुने कुरै भएन । सरकारी लगानीको जनक शिक्षा आफैँले प्रकाशन गर्छ । त्यसैले, जसरी पनि निजीलाई निरुत्साहित गर्ने प्रवृत्ति देखिन्छ । राज्यले मूल्य तोकिदिएको छ । विद्यालयको शुल्क तोक्न नसक्ने, तर पुस्तकको मूल्य तोक्ने अनौठो प्रवृत्ति छ । राज्यले यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन भूमिका खेल्नुपर्छ ।

साभार -enayapatrika.com