विवाहले छुटाएको विद्यालय

मंसिर ५, रामेछाप- रामेछापको गुन्सीभदौरे स्थित एक विद्यालयले विवाह गर्ने विद्यार्थी जोडीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । गुन्सी स्थित सत्लुङ्गेश्वर माविले पढ्दै गरेको दुई विद्यार्थीलाई विवाह गरेकै आधारमा अध्ययनबाट वञ्चित गरेको हो । सो विद्यालयमा कक्षा १० मा पढ्ने मुना चौलागाई र कक्षा ९ का केशु मगर विद्यालय शिक्षाबाट वञ्चित भएका हुन् । कात्तिक १० गते प्रेम विवाह गरेका १८ वर्षीय उनीहरुलाई विद्यालय प्रवेशमा रोक लगाइएको प्रवीन थापा मगरले गुनासो गरे ।

विद्यालयले कुनै हालतमा पनि पढ्न नदिने बताएपछि नवविवाहित विद्यार्थी मर्कामा परेको मगरले बताउनुभयो । आफूले विद्यालय पं्रवेशमा रोक लगाएको स्वीकार गर्दै प्रधानअध्यापक एकनाथ चौलागाईले उनीहरुलाई निष्काशन नै गर्ने बताए । एकै विद्यालयमा पढ्नेहरुले विवाह गर्दा विद्यालयको सँस्कार बिग्रने हुँदा यो जोडीलाई नपढाउने उनले बताए । नजिकै विद्यालय नहुदा पढ्न नपाएका विद्यार्थीले भने विद्यालयले आफूहरुको भविष्यमाथि खेलबाड गरेको गुनासो गरेका छन् । विवाहपछि आफूहरुको दाम्पत्य जीवन सामान्य भएपनि विद्यालयले पढ्न नदिएर अन्याय गरेको उनीहरुको दुःखेसो छ ।