कलंकी, चाबहिल र सूर्यविनायकमा बस्ने भयो यातायात विभागको कार्यालय

कार्तिक ३०, काठमाडौं–  यातायात व्यवस्था विभागले उपत्यकाका तीन स्थानमा आफ्नो कार्यालय विस्तार गर्ने भएको छ। सवारी लाइसेन्स वितरण,नविकरण तथा ट्रायल दिनको लागि सेवाग्राहीको भिड भएको भन्दै विभागले उपत्यकामा थप तीन नयाँ स्थानमा कार्यालय विस्तार गर्न लागेको हाे।
उपत्यकाका कलंकी,चाबहिल र भक्तपुरको सुर्यविनायकमा कार्यलय स्थापनागर्ने गरी विभागले घर खोजिरहेको रिजालले जानकारी दिए। अहिले उपत्यकामा लाइन्सेन्स वितरण,नविकरणको काम एकान्तकुना कार्यालय र ट्रायल दिनको लागि दुइपांग्रेको लागि मीनभवन र चारपांग्रेको लागि रामशाहपथबाट काम भइरहेको छ। सिमित सेवाकेन्द्र भएको कारणले सेवाग्राहीहरुको लामो भीड लाग्ने र त्यसबाट सास्ती पर्ने भएकोले सहजताको लागि नयाँ कार्यालय स्थापना गर्न लागिएको विभागका योजना शाखा प्रमुख निरञ्जल रिजालले जानकारी दिए।

‘अहिले उपत्यकामा भएका सिमित सेवा कार्यालय भएका कारण सेवा प्रभावित भइरहेको छ’ रिजालले सेतोपाटीसँग भने,‘सेवाग्राहीहरुको सुविधाको लागि नै हामीले कार्यालय थप गर्ने योजना अगाडि बढाएका छौं।’
नयाँ स्थापना हुने कार्यलयहरुबाट लाइसेन्स वितरण,सवारी चालक अनुमतिपत्रको लागि लिइने ट्रायल जस्ता सबै कार्य सम्पन्न हुने फूलफेजमा सञ्चालन गर्नेगरी विभागले काम अगाडि बढाएको छ।

‘एकातिर स्थानको विविधिकरण हुने भयो भने अर्कोतिर सेवाग्राहीको एकैठाउँमा केन्द्रिकरण पनि नहुने भयो’ रिजालले भने,‘अब भक्तपुर,जोरपाटी लगायतका बासिन्दाले सेवा लिनको लागि एकान्तकुना वा मीनभवन पुग्नै पर्ने बाध्यता हट्छ।’

विशिष्टिकृत गर्ने भन्ने सुझाव आएपनि अहिलेसम्म विभागले उक्त स्थानहरुमा लाइसेन्ससँग सम्बन्धित सबै कामहरु हुने बताइएको छ। हाल एकान्तकुना कार्यालयबाट दैनिक सरदर एकहजारजनालाई सेवा दिइरहेको विभागले नयाँ कार्यालय स्थापनापछि करिब थप तीनहजारलाई सेवा दिने र हालको क्षमतामा तीनगुणा बढ्ने विभागले अपेक्षा लिएको छ।

उपत्यकामा नयाँ कार्यालयहरु स्थापना भएसँगै यातायात कार्यालयमा लाग्ने भीड केही हदसम्म घट्ने र काममा चुस्तता आउने रिजालले विश्वास व्यक्त गरे। ‘थप जनशक्ती,कार्यालय हुनेवित्तिकै त्यसबाट लाभान्वित हुनेहरुको संख्या पनि घट्छ’ रिजालले भने,‘हामीले प्रविधियुक्त कार्यलयबाट सेवाग्राहीलाई द्रुत सेवा प्रदान गर्छौ।’

नयाँ स्थापना हुने प्रत्येक कार्यालयमा दुइपांग्रे र चार पांग्रेको अनुमतिपत्रको लागि ट्रायल दिन पाइनेसँगै एकान्तकुना कार्यलयबाट हुने अन्य काम पनि हुने छन्। उपत्यकामा सवारी चालक अनुमतिपत्रको लागि सेवाग्राहीले निकै नै सास्ती खेप्ने गरेका छन्। विशेषगरी अनुमतिपत्र लिँदा,नविकरण गर्दा यातायातमा दिनभरको लाइन बस्नुपर्ने बाध्यता लामो समयदेखि रहँदै आएको छ।

विभागले कार्यालयको लागि आवश्यक र उचित स्थान खोजिरहेको र त्यसको लागि सुचना जारी गरिसकेकोले अब उक्त स्थानहरुमा स्थान निश्चित हुनेबित्तिकै कार्यालय संचालनमा आउने विभागले जनाएको छ। सिमित जनसंख्या तथा सेवाग्राहीको लागि राखिएको स्रोत साधानबाट बढेको सेवाग्राहीहरुको चापलाई थेग्न नसक्दा भिडभाड बढेको विभागले बताउँदै आएको छ।

लामो समयदेखि उपत्यकामा विभागको क्षमता विस्तारको लागि बजेट माग गर्दै आएपनि बल्ल अहिले आएर उक्त योजना पुरा भएको रिजालले जानकारी दिए।
‘विभागले लामो समयदेखि क्षमता विस्तारको लागि हामीले मन्त्रालयसँग बजेट माग गर्दै आएका थियौं तर बल्ल आएर यो कार्यालय विस्तारको योजनाले मुर्त रुप पाएको छ’ उनले भने,‘तर अझै सेवालाई प्रभावकारी बनाउनको लागि आवश्यक हुने आधुनिक प्रविधिको जडानको योजना काम भने बाँकी नै छ।’

विभागको ताल्चीखेलको कार्यालय मातातीर्थमा सर्‍यो

यसैबीच दुई पांग्रे सवारी साधानको दर्ता,नामसारीको काम हुदै आएको विभागको ललितपुरको ताल्छिखेलको कार्यालय काठमाडौंको मातातीर्थमा सरेको छ। दसैंअघि केही काम ताल्छिखेल र केही मातातीर्थबाट हुँदै आएपनि अहिले सबै काम मातातीर्थमा भइरहेको रिजालले बताए।

ताल्छिखेलमा जग्गा विवाद र पार्किङ समस्या भएपछि कार्यालय मातातीर्थमा सारिएको हो।