भारतीय राष्ट्रपतिले पशुपतिनाथ दर्शन गर्ने

 

pranam

कार्तिक १०,  काठमाडौं – भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण क्रममा पशुपतिनाथ दर्शन गर्ने छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले कात्तिक १७–१९ नेपाल भ्रमण गर्ने निश्चित भएसँगै पशुपति क्षेत्र विकास कोष भारतीय राष्ट्रपतिको पशुपतिनाथ दर्शनको तयारीमा जुटेको छ।

 

भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण भव्य र स्मरणीय बनाउन लागिपरेको कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले जानकारी दिए । राष्ट्रपति मुखर्जीले कात्तिक १८ गते पशुपतिनाथको दर्शन तथा पूजा गर्ने सम्भावना छ।

‘सम्भवतः बिहानै पशुपतिनाथ दर्शन गर्न महामहिम आउने कार्यक्रम छ,’ उनले भने, ‘सुरक्षाका कारण समय भने अझै तोकिएको छैन ।’ पशुपतिनाथका मूलभट्ट गणेश भट्टले राष्ट्रपतिलाई पूजाअर्चना गराउनेछन् । राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा पूजा गर्नेछन् । राष्ट्रपतिको भ्रमण सफल र अविस्मरणीय बनाउन १५ दिनयता सरसफाइ र तयारीमा जुटेको कोषले जनाएको छ ।

pashupati nath temple nepal

 

कोषले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्कमा रहेको जनाएको छ । बाजागाजासहित पशुपतिनाथको मूलद्वारमा राष्ट्रपतिको स्वागत गरिनेछ । नेपाल वेद विद्याश्रम र गार्गी कन्या गुरुकुलका विद्यार्थीले मन्त्रोचारण गरेर राष्ट्रपतिको स्वागत गर्ने कार्यक्रम छ ।

 

सदस्यसचिव टण्डनको संयोजकत्वमा भारतीय राष्ट्रपतिको भ्रमणबारे कोषको चारपल्ट बैठक बसिसकेको छ । १८ वर्षअघि तत्कालीन भारतीय राष्ट्रपति रामास्वामी बेंकटरमणले पशुपतिनाथ दर्शन गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुई वर्षअघि पशुपतिनाथको दर्शन गरिसकेका छन्।