स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन

कार्तिक १०, काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी निर्वाचन आयोगले देशका ६ हजार २ सय १० स्थानमा मतदाता नामावली सङ्कलन विशेष अभियान सुरु गर्ने भएको छ। यो खबर आजको गोरखापत्रमा छापिएको हो।
नयाँ निर्वाचनका लागि वालिग भएका कोही पनि मतदाता नछुटून भनेर आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न १२ हजार सुरक्षाकर्मीसहित ३७ हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ ।
असोज मसान्तसम्म १८ वर्ष उमेर पुगेका मतदाताको नामावाली अद्यावधिक गर्न देशव्यापी रूपमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने विशेष अभियान यही कात्तिक २६ गतेबाट सुरु हुने भएको छ ।
मतदाता नामावली सङ्कलनका लागि पहिलो चरणमा हिमाली क्षेत्रका १६ जिल्लाका सहित दुर्गम पहाडी जिल्लासहित २२ जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिनेछ । त्यसलगत्तै बाँकी ५३ जिल्लामा पनि यो अभियान सञ्चालन गरिनेछ ।
सोही प्रयोजनका लागि आयोगले मङ्गलबारबाट केन्द्रीय स्तरको तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । प्रशिक्षण पूर्वको इटहरी, मध्य क्षेत्रको ललितपुर र पश्चिम क्षेत्रका लागि नेपालगन्जमा सञ्चालन भइरहेको छ र त्यसमा ७५ जिल्लाका जिल्ला निर्वाचन अधिकारीलाई प्रशिक्षण दिइएको छ ।
प्रशिक्षणका लागि इटहरीमा रहनुभएका निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले भने, ‘नयाँ संवैधानिक व्यवस्था अनुसार आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउनुपर्ने हुन्छ, त्यसमा स्थानीय तहको निर्वाचनको तयारीस्वरूप आयोगले देशव्यापी रूपमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न लागेको हो।’
आयोगका सहसचिव नवराज ढकालका अनुसार संविधानसभा सदस्य निर्वाचनका लागि २०७० सालसम्मको मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्य भएको थियो । त्यसपछि पनि मतदाता नामावली सङ्कलन गर्ने काम भए तर अद्यावधिक गर्ने कार्य भएको थिएन । आसन्न निर्वाचनका लागि अद्यावधिक गरिनु जरुरी छ । मतदाता नामावलीमा एकरूपता, शुद्धता ल्याउने उद्देश्यले मङ्गलबारबाट क्षेत्रीय स्तरमा तीनदिने मुख्य प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरिएको हो ।
तालिममा सहभागी ७५ वटै जिल्लाका जिल्ला निर्वाचन अधिकारीले जिल्लाका सचिवहरूलाई तालिम प्रदान गर्नेछन् । तालिमप्राप्त कर्मचारीहरू कात्तिक २६ गतेदेखि आफ्नो कार्यक्षेत्रमा खटिनेछन् ।