संसदमा कार्कीसँगै शीर्ष नेताहरुको पनि चर्को आलोचना

कार्तिक १०, काठमाडौं – अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विरुद्ध महाअभियोग पारित गर्नुका साथै उनकोि नियुक्तिका लागि सिफारिस गर्ने शीर्ष नेताहरुलाई पनि जवाफदेही बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथि मंगलबार संसदमा भएको छलफलमा सत्तासीन दलकै सांसदले कार्कीको नियुक्तिको लागि सिफारिस गर्ने शीर्ष नेताहरुको आलोचना गरेका हुन् ।

माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले नै अभियोग सहित कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा पेश गरेका थिए । उनको प्रस्तावलाई सांसदहरुले समर्थन जनाए पनि कार्कीलाई नियुक्तिको सिफारिस गर्ने नेताहरुको पनि चर्को आलोचना गरे ।

‘केही बर्ष अघि प्रमुख दलका शीर्ष नेताहरुले गम्भीर गल्ती गर्नु भएको थियो , कांग्रेस सांसद एवं स्वास्थ्य मन्त्री गगन थापाले भने , त्यतीखेर हामीले कार्कीलाई नियुक्ति नगरौ भन्दा पार्टी सभापति शुशील कोइराला र तत्कालीन राष्ट्रपति रामबरण यादवले हामीले सकेनौ, हामी हार्यौ भन्नुभयो । हामीले कोसँग हारेको हो? को सँग नसकेको हो ?

मन्त्री थापाले भारतको नाम लिएनन् तर बुझिने गरी भारतीय गुप्तचर संस्थाका अधिकारीहरुसमक्ष आफ्नो केही नलागेको भन्ने अभिव्यक्तिहरु त्यतिबेलाका राष्ट्रपति लगाएतबाट आएको तर्फ संकेत गरेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।