माओवादी सांसदलाई लोकमानका मान्छेको धम्की

कात्तिक ७,  काठमाडौं – लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावको प्रस्तावक बनेका माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीलाई धम्की आएको छ ।

बुधबार संसदमा प्रस्ताव दर्ता हुने बित्तिकै आफूलाई धम्की आएको उहाँले उज्यालोलाई जानकारी दिनुभयो । ‘लोकमानका मान्छेले प्रस्ताव फिर्ता लिन धम्की दिए’ उहाँले भन्नुभयो । विदेशबाट फर्किने बित्तिकै लोकमानले गणतन्त्र सिध्याउने योजनासहित काम गर्न खोजेको सूचना पाएपछि आफूहरुले प्रस्ताव दर्ता गरेको उहाँको भनाई छ ।
‘त्यसैले पार्टी अध्यक्षलाई समेत जानकारी नगराई एमालेसँग मिलेर हतारहतार प्रस्ताव दर्ता गर्नुपरेको हो, यो एकप्रकारको सरप्राइज एट्याक्ट नै थियो’ उहाँले भन्नुभयो ।
प्रस्ताव दर्ता गरेको थाहा पाएपछि आफुलाई पार्टी अध्यक्षले फोन गरेर हतार नगरेको भए हुन्थ्यो भनेको, तर आफूले ठीक गरेकाले कारवाही भोग्न तयार रहेको जवाफ दिएको पनि उहाँले बताउनुभयो ।