अन्तरजातीय विवाहपछि तनाव, केटा र केटा पक्षलाई करणी मुद्दा, केटी पक्षलाई अपहरण मुद्दा

असोज २०, बाग्लुङ – तीन साता अघि भएको अन्तरजातीय विवाहका जोडीविरुद्ध अभिभावकहरु लागेपछि तनाव शुरु भएको छ ।
कुश्मीसेरास्थित शान्ति उच्चमाध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत बबिन परियार र हेमन्ती थापाले गत २८ भदौमा प्रेम विवाह गरेका थिए । उनीहरुको विवाह विरुद्ध केटी तर्फका अभिभावक लागेपछि तनाब सिर्जना भएको हो ।
केटीका अभिभावकले केटाविरुद्ध अदालतमा बलात्कार मुद्धा दायर गरेका छन् । सो घटनापछि केटा सम्पर्कविहीन भएकोले केटा पक्षले अपहरण परेको अनुमान गरेको छ । बेपत्ताको खोजी गरिदिनका लागि सहयोग गर्न पीडित केटा पक्षले मानव अधिकारकर्मी, सञ्चारकर्मी र प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।
२०५७ साल जन्ममिति भएका दुवैजना १६ बर्षको भएकोले भागी विवाह गर्ने उमेर नभएको भन्दै अघिल्लो साता प्रहरीमा सर्वदलीय राजनीतिक संयन्त्र र दुवै पक्षका अभिभावक बसेर छलफल गरी केही समय आफ्नो–आफ्नो घरमा राख्ने निर्णय गरेका थिए ।
सो निर्णयपछि प्रहरी परिसरबाटै भागेका उनीहरुलाई केटी पक्षले आरोपप्रत्यारोप र बलात्कार गरेको आरोप लगाएपछि तनाव सिर्जना भएको संयुक्त राजनीतिक संघर्ष समिति बागलुङका संयोजक धनबहादुर परियारले बताए ।
केटा दलित परिवारको र केटी जनजाति परिवारको भएकोले यो घटनामा जातीय विभेद भएको उनीहरुले ठहर गरेका छन् । २१ औं शताब्दीमा आएर पनि छुवाछुतको विभेद कायमै रहनु लज्जास्पद र दुर्भाग्यपूर्ण भएको भन्दै उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी बुधवार पत्रकार सम्मेलन समेत गरेका थिए ।
कानुनीरुपमा दण्डनीय मानिएको जातीय विभेदअनुसार दोषीलाइ कारवाही गर्न पनि विज्ञप्तिमा माग गरिएको छ । उमेर नपुगेकोले अभिभावकको संरक्षकत्वमा बस्ने निर्णय विरुद्ध केटीपक्षले केटालाई बेपत्ता बनाएकोले मानवअधिकारको उल्लंघन भएको समेत उनीहरुले ठहर गरेका छन् ।
सो घटनालाई अतिरञ्जित बनाएर प्रेम विवाहलाई पनि बदनाम गरिएको बताइएको छ । विज्ञप्तिमा केही सञ्चारमाध्यममा समेत एकतर्फी समाचार प्रकाशन भएको भन्दै उनीहरुले विरोध गरे । मुद्दालाई वास्तविकताभन्दा फरक पारेर झुट्टा बनाई आएका खवरप्रति खेद व्यक्त गर्दै सत्यतथ्य खबर ल्याइदिन पनि माग गरिएको छ । झुटा मुद्धा खारेज र सम्पर्कविहीन भएका केटाको खोजी गरिदिन आग्रह गर्दै केही भएमा त्यसको जिम्मा केटीपक्षले लिनुपर्ने समेत चेतावनी दिएका छन् । उनीहरुले घटनालाइ अतिरञ्जित गरिएकोमा सो को प्रतिवादसमेत गरेका छन् ।