१० दिन बित्यो, घिमिरेका तीन दाजुभाइ अझै भेटिएनन्

असोज १९, काठमाडौं- सरकारले त्रिशूली नदीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि अनुभवी गोताखोरसहित पाँच सय ६० सुरक्षाकर्मी परिचालन गरेको छ । चितवनको दारेचोक–३ घोप्टेभीरमा ९ असोजमा जिप दुर्घटनामा परी हराइरहेका घिमिरेको खोजी तथा उद्धारका लागि सरकारले सयौँको संख्यामा सुरक्षाकर्मी परिचालन गरिरहेको हो ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले घिमिरेको खोजीका लागि दुर्घटना भएको दिनयता चितवनका प्रमुख जिल्ला अधिकारी वसन्त कुँवरको संयोजकत्वमा अनुभवी गोताखोर, विभिन्न प्रविधि र उपकरणसहित परिचालन गरेको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा गृहमन्त्री निधिले विशेष समय लिएर बोल्दै सो जानकारी गराएका हुन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

९ असोजमा भएको दुर्घटनामा पूर्वमन्त्री घिमिरेका तीन दाजुभाइ अझै बेपत्ताकै स्थितिमा छन् । तर, परिवारका सदस्यहरूले भने कुशको शव बनाई उनीहरूको सांस्कृतिक रूपमा दाहसंस्कार गरिसकेका छन् । दुर्घटना भएकै दिन घिमिरेकी आमा लक्ष्मी घिमिरे, आफन्त नारायण काफ्ले, अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको शव फेला परेको थियो ।

सोही गाडीमा रहेका नेपाल प्रहरीका हवल्दार विष्णु राईलाई दुर्घटनास्थलबाट जीवितै उद्धार गरी अस्पताल भर्ना गरिएको थियो । परिवारका सदस्यले धार्मिक तथा सांस्कृतिक रूपमा कुशको शव बनाई अन्त्येष्टि गरिए पनि सरकारले खोजीकार्य जारी राखेको मन्त्री निधिले बताए । ‘परिवारको इच्छाअनुसार अन्त्येष्टि भए पनि सरकारले खोजीकार्यलाई निरन्तरता दिइरहेको छ,’ उनले भने ।

घिमिरेको खोजीका लागि सरकारले सशस्त्र प्रहरीका र देशभित्रका अन्य अनुभवी गोताखोर परिचालन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घिमिरेको खोजीकार्यलाई प्रभावकारी बनाउन दिएको निर्र्देशनअनुसार खोजीकार्य तीव्र पारिएको गृहमन्त्री निधिको भनाइ छ ।

खोजीकार्यलाई मुग्लिङ, जुगेडी हुँदै चितवन देवघाट, नवलपरासीको तल्लोतटीय क्षेत्रसम्म विस्तार गरिएको छ । १५, १६ र १७ असोजमा तीन दिन थप पाँचजना अनुभवी गोताखोर झिकाई दुर्घटनास्थलदेखि दुई किमि तलसम्मको तल्लो क्षेत्रमा नदीको ३० मिटरसम्मको गहिराइमा खोजीकार्य गरेको गृहमन्त्रीको भनाइ छ । गोताखोरहरूको सुझाबकै आधारमा अहिले तल्लोतटीय क्षेत्रमा थप दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।