दसैंका लत्ताकपडा हवाईजहाजमा

असोज १६ , काठमाडौ – चीनबाट सामान ल्याउन प्रयोग हुने तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा सञ्चालन हुन नसकेपछि नेपाली व्यापारीले हवाईजहाजबाट ल्याउन बाध्य भएका छन्। राजधानी तथा अन्य क्षेत्रमा चिनियाँ सामान बिक्री गर्ने व्यापारीले अन्तर्राष्ट्रिय उडानमार्फत सामान आयात गर्न थालेको खबर आजको कान्तिपुरमा छापिएको छ।

गत वर्षको भूकम्पपछि तातोपानी नाका बन्द भएको थियो भने विभिन्न खाले चिनियाँ अवरोधले रसुवागढी नाकामा समस्या थियो । ‘तातोपानी बन्द भएपछि एक पटक रसुवागढीबाट सामान ल्याउँदा धेरै समस्या भयो,’ न्युरोडको आरबी कम्प्लेक्समा तयारी पोसाकको पसल चलाउने लोप्साङ गुरुङले भने, ‘त्यसपछि ‘एयर लिफ्ट’ गरेर सामान ल्याइरहेको छु ।’ उनले दसैं–तिहारलाई लक्षित गर्दै केही साताअघि मात्र ग्वान्जाउबाट थाई एयरमा तयारी पोसाक ल्याएको बताए ।

‘ग्वान्जाउबाट बैंकक हुँदै आउने जहाजमा सामान ल्याएँ,’ उनले भने, ‘बैंककबाट पनि सामान थपेको थिएँ ।’ उनका अनुसार अहिले धेरै नेपालीले चीनबाट सीधै काठमाडौं उडान भर्ने कम्पनीमार्फत सामान ल्याउने गरेका छन् । तयारी पोसाक, चस्मा, सौन्दर्य सामग्री, झोला, फुटवेयर, मोबाइल, तयारी गहना, सजावटका सामानलगायत वस्तु अहिले जहाजबाटै आउन थालेका छन् । तयारी पोसाक र सौन्दर्य सामग्री भने थाइल्यान्डबाट समेत ‘एयर लिफ्ट’ गरेर ल्याइने गरेको छ ।

‘भूकम्पपछि धेरैले जहाजबाट सामान ल्याउन थालेका छन्,’ नेपाल चेम्बर अफ कमर्सका सचिव एवं आरबी कम्प्लेक्सकै व्यापारी पर्शुराम बस्नेतले भने, ‘उत्तरी नाकाको अवरोधले सीमित सामान ल्याउने व्यापारीको रोजाइ जहाज भएको हो ।’ चीनबाट आयात हुने लत्ताकपडालगायत सामानको आयात उत्तरी नाकाबाट हुँदै आए पनि गह्रुँगा वस्तु एवं औद्योगिक उपकरणको आयात भने समुद्री मार्ग हुँदै कोलकाताबाट आउने गरेको छ ।

उत्तरी नाकाबाट आउने सामानमध्ये अहिले कम्तीमा २५ प्रतिशत सामान भने जहाजबाट आउन थालेको व्यापारीहरूको आकलन छ । ‘तातोपानी खुल्ने छनक छैन,’ सचिव बस्नेतले भने, ‘रसुवागढीमा कहिले पहिरो जान्छ, कहिले चिनियाँले अनेकथरी बहाना निकालेर समस्या पार्छन्, त्यसैले व्यापारीहरू अलिकति महँगो तिरेर भए पनि जहाजबाटै सामान ल्याउन चाहन्छन् ।’

तातोपानी नाका बन्द भएपछि समुद्रीमार्ग हुँदै र रसुवागढीबाट सामान ल्याउँदा र जहाजबाट ल्याउँदाको ढुवानी खर्चमा खासै अन्तर हुन छाडेकाले पनि सीमित मात्रामा सामान ल्याउने मझौला खाले व्यापारी ‘एयर लिफ्ट’मा आकर्षित भएका हुन् । नेपाल फ्रेड फर्डवाडर्स एसोसिएसन (नेफा) का द्वितीय उपाध्यक्ष एवं एयर कार्गो समितिका संयोजक राजेन्द्र संग्रौलाका अनुसार भूकम्पपछिदेखि नै जहाजबाट सामान आयात गर्ने बढेका हुन् ।

‘विशेषगरी चीन र थाइल्यान्डबाट एयर लिफ्ट गर्ने बढेका छन्,’ उनले भने, ‘त्यसले गर्दा विमानस्थलको कार्गो गोदाममा धेरै चाप परिरहेको छ ।’ उनका अनुसार एक दिन बिदा पर्दा त्रिभुवन विमानस्थलमा रहेको कार्गो गोदाममा सामान राख्ने स्थान हुँदैन । ‘भूकम्पअघिको तुलनामा अहिले कम्तीमा पनि २५ प्रतिशत आयात बढेको छ,’ उनले भने, ‘त्यसले गर्दा गोदाममा ठूलो चाप परेको हो ।’

नेपाली आकाशमा धेरै अन्तर्राष्ट्रिय उडान हुन थालेकाले बर्सेनि जहाजबाट हुने ढुवानी सस्तिँदा पनि व्यापारीहरूले आयात गर्न थालेको संग्रौलाले बताए । ‘पाँच वर्षअघिको तुलना गर्ने हो भने अहिले जहाजबाट ल्याउन लाग्ने खर्च आधा कम भएको छ,’ उनले भने ।

संग्रौलाका अनुसार पाँच वर्षअघि चीनबाट जहाजमा सामान ल्याउँदा सरदर कम्तीमा किलोको ४ देखि ५ डलर पर्ने गथ्र्यो । अहिले भने ढुवानी भाडा घटेर साढे २ डलरदेखि २ डलर ७५ सेन्टसम्म झरेको छ । त्यस्तै बैंककबाट ५ वर्षअघिसम्म प्रतिकिलो २ डलर पर्नेमा अहिले घटेर १ डलर र त्यसभन्दा कमसमेत झर्ने गरेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक योगेन्द्र गौचन पनि अहिले जहाजबाट सामान ल्याउने क्रम बढेको बताउँछन् ।