लागुऔषध तस्करीमा तानिए पूर्वसभासद् अग्रवाल

असोज १३, काठमाडौं – औषधि बनाउन आयात गरिएको प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा पूर्वसभासद् मधुसुदन अग्रवाल छानबिनमा तानिएका छन् ।
अनुसन्धानको क्रममा अग्रवालद्वारा सञ्चालित एसआर फर्मास्युटिकल्स तथा टौरस फर्मा ल्याबले प्रिकर्सर रसायन दुरुपयोग गरेको पुष्टि भएपछि कम्पनीको गुड मेनिफेक्चिरिङ प्रोडक्ट (जिएमपी) लाइसेन्स रद्द भएको छ ।
प्रहरीले अनुसन्धान अघि बढाएपछि अग्रवाल तथा उनका अन्य व्यावसायिक साझेदार फरार छन् । औषधि व्यवस्था विभागले मंगलबार कम्पनीको जिएमपी लाइसेन्स रद्द गरेको हो।

‘उनीहरूले ल्याएको प्रिकर्सर रसायन र उत्पादन गरेको औषधिमा धेरै तलमाथि देखियो,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने, ‘रसायन डाइभर्सन भएको पुष्टि भएपछि कारबाहीस्वरूप लाइसेन्स रद्द गरेका हौँ, थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।’

अनुसन्धान सुरु भएलगत्तै अग्रवाल फरार छन् । उनी पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमबाट समानुपातिक सभासद् थिए । लामो समयदेखि अग्रवालको कम्पनीले रसायन आयात गरेर अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीहरूलाई बिक्री गर्दै आएको प्रहरीको दाबी छ । आजको नयाँ पत्रिकामा दैनिकमा यो खबर छापिएको छ।