आज राष्ट्रिय बाल दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

भदौ २९, काठमाडौं – आज राष्ट्रिय बाल दिवस । ‘सम्बर्द्धन बालअधिकारको : कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले छुट्टछुटट्टै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले परिवारदेखि राज्यसंरचनासम्मले बालबालिकाको बचाउ, संरक्षण, विकास र सहभागिता जस्ता आधारभूत बालअधिकारको संरक्षण प्रवद्र्धन र कार्यान्वयनमा ध्यान दिनु आवश्यक रहेको बताएका छन । उहाँले संयुक्त राष्ट्रसंघीय महासन्धिलाई अनुमोदन गरेको २५ वर्षको अवधिमा बालबालिकाको अधिकारलाई कानूनी मान्यता दिने सन्दर्भमा नेपालले उल्लेख्य उपलब्धि हासिल गरिसकेको बताए ।

दिवसको अवसरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल, केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी र कार्यकारी निर्देशक तारक धितालले पनि पनि शुभकामना व्यक्त गरेका छन ।