खाद्य संस्थानले तीनहजार खसी बोका ल्याउने

भदौ २८ , काठमाडौँ – नेपाल खाद्य संस्थानले यस वर्षको दसैँका लागि करिब तीन हजार खसी बोका ल्याउने भएको छ ।

प्रत्येक वर्ष दसैँमा सर्वसाधारणलाई सहुलियत मूल्यमा मासु उपलब्ध गराउने उद्देश्यले स्वदेश तथा विदेशका विभिन्न स्थानबाट संस्थानले खसी बोका ल्याउने गर्दछ । मुस्ताङबाट एक हजार ५०० च्याङ्ग्रा तथा भारतका विभिन्न ठाउँबाट सोही सङ्ख्यामा खसी बोका ल्याउन लागिएको संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले जानकारी दिनुभयो ।

दसैँमा मासुको माग अत्यधिक हुने हुँदा मूल्य पनि आकासिने गर्दछ । त्यसलाई नियन्त्रण गर्नका लागि संस्थानले खसीबोका ल्याई सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको छ । घटस्थापनासम्म खसी–बोका ल्याउने र फूलपातीसम्म बिक्री–वितरण गर्ने संस्थानले जनाएको छ ।