बकर इद आज मनाइँदै

 

भदौ २८ , काठमाडौँ – मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् ।

इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली जामे मस्जिद घन्टाघरका मोहम्मद खुर्सिदले बताउनुभयो ।

यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औँ महिना जिल हिज्जाको १०औँ तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको मस्जिदका सहसचिव अब्दुल समिनले बताउनुभयो ।

आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।

नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ ।