यातायात ऐनमा संशोधन : अब लाइसेन्सका लागि ट्रायल दिँदा फेल भए १ महिना मै पुन ट्रायल दिन पाउने

भदौ २७, काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकले ‘सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) विधेयक, २०७२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए  ।

विधेयकको सैद्धान्तिक पक्षमा उठेका छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले एक वर्षअघि सरकारले सो विधेयक ल्याउने निर्णय गरेको जानकारी गराउँदै अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि भएका अन्तर्राष्ट्रिय सन्धिको पालना गर्न संशोधन आएको बताए ।

सन्धिको पालनाका लागि कानुन बन्न ढिलाइ हुँदा सर्वाेच्च अदालतबाट निर्देशनात्मक आदेश दिएको उल्लेख गर्दै उहाँले यातायात व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि अन्य कानुनी प्रबन्धको तयारी भइरहेको जानकारी दिए ।

छलफल भाग लिँदै नेकपा (एमाले)का रेवतीरमण भण्डारीले सर्वाेच्च अदालतको आदेशबमोजिम गरिएका केही नयाँ व्यवस्थाबारे संशोधन आए पनि कुन मितिको आदेश वा फैसला भन्ने स्पष्ट पारिएको भए अध्ययन गर्न सहज हुन्थ्यो भन्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले लामो दूरीका लागि सवारी व्यवस्था, काठमाडौँ उपत्यकामा बढी सवारी जाम हुने स्थितिको अन्त्यबारे विधेयकले ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका भरतकुमार साहले बिना लाइसेन्स ५० प्रतिशतभन्दा बढी मोटरसाइकल चलाइने स्थिति, यातायत एकाधिकार अन्त्यका विषय पनि कानुनमा आउनुपर्ने बताए ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का गीता क्षेत्रीले विधेयक समयसापेक्ष हुन नसकेको भन्दै सवारी व्यवस्थापन र दुर्घटना अन्त्यका लागि ध्यान दिनुपर्ने बताए ।

यी हुन् संशोधनमा गरिएका केही महत्त्वपूर्ण परिवर्तन
• लाइसेन्स (सवारी चालक अनुमति पत्र) अब दुई किसिमका हुनेछन्- व्यवसायिक र गैरव्यवसायिक। पेशाका रुपमा कार्य गर्ने गरी व्यवसायिक लाइसेन्स लिनुपर्नेछ। व्यक्तिगत प्रयोजनका लागि भने गैरव्यवसायिक लाइसेन्स लिनुपर्नेछ।

• सार्वजनिक सवारीलाई व्यवसायिक सवारी भनिनेछ। व्यवसायिक सवारी यात्रीवाहक र मालवाहक गरी दुई प्रकारको हुनेछ।

• उत्पादन मितिले २० वर्षभन्दा बढी भएको कुनै पनि सवारीको दर्ता हेरफेर र नामसारी गरिने छैन।

• सिट संख्याभन्दा सवारी राखेमा, यात्रुवाहक सवारी साधनले मालसामान राखेमा वा मालवाहक सवारी साधनले यात्रु बोकेमा, लामो रुटमा प्रत्येक छ घण्टामा चालक परिवर्तन नगरे, निजी सवारी साधनले भाडाको यात्री बोके सवारी साधन दर्ता इजाजतपत्र निलम्बन गरिनेछ।

• ठूलो सवारी साधनको लाइसेन्स लिन न्यूनतम उमेर २१ वर्षको ठाउँमा २५ वर्ष

• मझौला र सानो सवारी साधनको लाइसेन्स लिन १८ वर्षको सट्टा २१ वर्ष राख्ने।

• मोटरसाइकल तथा सानो दुई पाङ्ग्रे सवारी साधनका लागि १६ वर्षको साटो १८ वर्ष राख्ने।

• एक पटक लाइसेन्स पाइसकेको चालकले अर्को सवारी साधनको लागि थप लाइसेन्स लिन लिखित परीक्षा लिइने छैन।

• लाइसेन्स परीक्षामा एक पटक असफल भएकोले पुनः परीक्षा दिन तीन महिनासम्म नपाउने व्यवस्था भइआएकोमा अब एक महिनासम्म बनाइएको छ।

• लाइसेन्सको म्याद पाँच वर्ष रहँदै आएकोमा अब १० वर्ष बनाइने।

• नवीकरण पनि १० वर्षको हुनेछ

• सिट संख्याभन्दा सवारी राखेमा, यात्रुवाहक सवारी साधनले मालसामान राखेमा वा मालवाहक सवारी साधनले यात्रु बोकेमा, रुट इजाजत नलिएको बाटो सवारी चलाए, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरे, मापसेबाट एक पटक भन्दा बढी सजाय पाइसकेको भए लाइसेन्स निलम्बन गर्न सकिनेछ।

• लापरवाहीका कारण सवारी दुर्घटनाबाट मानिसको अङ्गभङ्ग भए वा मृत्यु भए लाइसेन्स खारेज हुने।

• प्रशिक्षार्थी सवारी चालक सम्बन्धी व्यवस्था गरिनेछ।

• सवारी साधनमा रंगीन शिशा राख्न नपाइने।