राष्ट्रिय गौरवका आयोजना आफै अनुगमन गर्छुः प्रधानमन्त्री प्रचण्ड

भदौ २७, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाहरुको आफै अनुगमन गर्ने बताउनु भएको छ ।

सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘राष्ट्रिय गौरवका आयोजनाहरु तालिका बनाएर म आफैं अनुगमन गर्छु । सबै मन्त्रीहरुले पनि आफ्नो मातहतका आयोजनाहरुको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्नुस् ।’
बैठकमा प्रधानमन्त्रीले एकातिर विकासका आयोजनामा रकम अभाव हुने र अर्कोतिर बिनियोजित पूँजीगत खर्च नहुने समस्या समाधानका लागि दण्ड र पुरस्कारको प्रावधान आवश्यक रहेकामा जोड दिनुभयो । बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘एकातिर विकास आयोजनाहरुमा रकमको अभाव हुने र अर्कोतिर पूँजीगत खर्चको सामथ्र्य बढाउन नसकेको समस्या छ । यस वर्ष पूँजीगत खर्चको सामथ्र्य कम्तिमा ८० प्रतिशत पु¥याउनुपर्छ । त्यसका लागि राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र लापरवाही, ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने प्रावधान आवश्यक छ ।’
बैठकमा प्रधानमन्त्रीले विकास आयोजना सम्बन्धि समितिका बैठकहरुमा आवश्यक गृहकार्य गरेर उपस्थित हुन मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘विकासका काममा संवेदनशील हुन जरुरी छ । जनताले नयाँपनको प्रत्याभूति गर्नुपर्दछ । त्यसका लागि माननीय मन्त्री र सचिवज्यूहरुले आवश्यक गृहकार्य गरेर आगामी बैठकमा उपस्थित हुनुहोला ।’ प्रधानमन्त्रीले संघीय ढाँचाअनुसार विकासका आयोजनाहरु छनोट र कार्यान्वयन गर्न आवश्यक रहेको बताउँदै त्यसको तयारी गर्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो ।
बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका मूख्य सचिव, सचिवहरुले विकास आयोजनाहरुको स्थिति, समीक्षा, प्रगति विवरण र आगामी योजनाबारे आ–आफ्नो प्रगति बिवरण र सुझावहरु पेश गर्नुभएको थियो ।