चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित

भदौ २२,काठमाडौं – अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल यात्रा स्थगित भएको छ ।

त्यो आशयको निर्णयले हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएको स्रोतले उल्लेख गरेको छ ।

चीनले नेपालका तर्फबाट भ्रमण सम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिदैं गएको नेपाल सम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्धता नदेखिएको उसको बुझाइसमेत अवगत गराएको छ ।

अब चिनियाँ राष्ट्रपति सी सन् २०१६ भित्र नेपाल आउने सम्भावना टरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा औपचारिक जानकारी आएको पुष्टि गरेको छ ।

यद्यपि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा कुनै जानकारी नआएको प्रतिक्रिया दिए ।

भ्रमण स्थगित गरिनुको तीन कारणः
१. पर्याप्त तयारी अभाव
२.वन बेल्ट वन रोडमा नेपालको प्रतिबद्धता कमजोर
३.केपी ओलीसँग भएका सम्झौता कार्यान्वयनमा गृहकार्य अभाव
–अन्नपूर्ण पोस्ट दैनिकबाट