१८ वटा प्लेन किन्ने पर्यटनमन्त्रीको घोषणा

भदौ १६ , काठमाडौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालमा अन्र्तराष्ट्रिय र आन्तरिक उडानका लागि १८ वटा नयाँ विमान किन्ने घोषणा गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय उडानका लागि कम्तिमा ६ वटा र आन्तरिक उडानका लागि १२ वटा विमान किन्ने बताउनुभयो ।

रिपोर्टर्स क्लबले आज गरेको साक्षात्कारमा मन्त्री शाहीले नेपालको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानको आवश्यकता रहेको भन्दै खरिदका लागि आफूले तत्काल गृहकार्य सुरु गर्ने र विमान किन्न आफू पछि नहट्ने बताउनुभयो । विगतमा जहाज ल्याउने तयारी गर्दा मुद्दा हाल्ने, झगडा गर्ने र कानुनी बाधा अड्चन आउने गरेको भन्दै मन्त्री शाहीले अब पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनका लागि अब सबैले फराकिलो मनले सोच्नुपर्ने उल्लेख गर्नुभयो । नयाँ जहाज ल्याउन पैसा तत्काल तिर्नुनपर्ने र सरकार जमानी बसिदिने उहाँको भनाई थियो । हाल बार्षिक ५०÷६० अर्व रुपैया अरु एयरलाइन्सलाई बुझाउनुपर्ने नेपालको बाध्यता रहेको उल्लेख गर्दै मन्त्री शाहीले आफ्नै अन्र्तराष्ट्रिय उडानको लागि जहाज भए सो रकम स्देशी पुँजीको रुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।