धरहरा कागजमै अल्झियो, रानीपोखरी निर्माणमा रोक

भदौ १४ , काठमाडौ – भूकम्पको कारण भत्किएको धरहरा नवर्निर्माण गर्न अवधारणागत नक्सा तयार भए पनि त्यसमा थप काम भने अगाडि बढेको छैन । सरोकारवाला निकायका फरक–फरक तर्क र जवाफ सुन्दा प्रक्रिया अगाडि बढिहाल्ने अवस्था समेत देखिँदैन ।

धरहराको अवधारणागत नक्सा तयार गर्ने आर्टिकेक्ट इन्जिनियर मनोहर राजभण्डारीले आफूहरूले तयार पारेको नक्सा पुरातत्व विभागलाई बुझाइसकिए पनि त्यसमा विभागबाट थप कुनै प्रतिक्रिया वा सुझाव नआएको बताए ।
पुरातत्व विभागका अधिकारीको भनाइ भने उनको भनाइसँग मेल खाँदैन । विभागका प्रवक्ता घनश्याम उपाध्याय भन्छन्, ‘सोही कम्पनीलाई धरहराको टोपोग्राफिक डिजाइन फाइनल गर्नका लागि एक महिनाको अवधि दिइएको छ ।’
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राई भने धरहरा नवनिर्माणका लागि तयार भएको डिजाइन मन्त्रिपरिषद्मा प्रस्तुत नै हुन नपाएको जानकारी दिन्छन् । उनी भन्छन्, ‘अवधारणागत डिजाइन प्राप्त भएको छ तर मन्त्रिपरिषद्मा प्रस्तुत हुन नपाएका कारण प्रक्रिया अगाडि बढेको छैन । नयाँ मन्त्री भर्खरै आउनु भएकाले केही समयमै मन्त्रिपरिषद्मा धरहराको अवधारण प्रस्तुत गरिनेछ ।’
यसका साथै अब बन्ने धरहराले ओगट्ने गोश्वारा हुलाक कार्यालयलाई चारखाल अड्डामा सार्न पनि जग्गाको कित्ता नम्बर सच्याउनुपर्ने अवस्था आएको छ । मन्त्रालयले त्यसको प्रक्रिया सुरु भएको जानकारी दिएको छ । त्यस्तै टक्सार विभाग भने सार्ने प्रक्रिया सुरु भइसकेको सचिव राईले जानकारी दिए ।
अब बन्ने आधुनिक धरहराको लागि गोश्वारा हुलाक कार्यालय, टक्सार विभाग र ऐतिहासिक सुन्धारालाई समेत समेटेर करिब ४२ रोपनी जग्गा ओगट्ने गरी डिजाइन तयार भएको छ । अनुमानित तीन अर्ब रुपियाँको लागतमा धरहराको नवनिर्माण गरिने र त्यसका लागि मै बनाउँछु मेरो धरहरा नारा दिएर नेपाली जनतासँग सहयोग आह्वान समेत भएको छ । आजको गोरपत्र दैनिकमा खबर छ ।