शिक्षक बन्ने सपना त्रिशुलीमा डुब्यो

भदौ,११ रौतहट – शुक्रबार एकाबिहानै आएको खबरले जिल्लाबासीलाई शोकमग्न बनायो। बिहीबार साँझ रौतहटबाट पोखरा हिँडेको बस त्रिशुलीमा खसेको थियो । शिक्षक सेवा आयोगले शनिबार बिहान ८ बजेदेखि लिने निम्न माध्यमिक तहको स्थायी शिक्षकको लिखित परीक्षा दिन दर्जनौं शिक्षित बेरोजगार चढेको ग १ ख ३७०९ नम्बरको विन्ध्यवासिनी बस नदीमा खसेको खबरले बसलाई त्रिसुलीले डुबाएजस्तै जिल्लालाई शोकले डुबायो ।

दुर्घटनामा रौतहटको मुडबलवा गाविसका पाँचजनाको मृत्यु भएको छ । साँझसम्म दुईजनाको सनाखत भएको छ। शिक्षकद्वय चित्तरञ्जन यादव र राजेशप्रसाद यादवको सनाखत भएको छ । सँगै चढेका रविरञ्जन यादव, राम बालक साह र मुकेश रामको अवस्था शुक्रबार साँझसम्म अज्ञात छ । दुर्घटनाको खबर सुनेदेखि राजेश यादवकी पत्नी नितु यादवको आँखाबाट आँशु रोकिएका छैनन् ।
शिक्षकद्वय चित्तरञ्जन यादव र राजेशप्रसाद यादवको सनाखत भएको छ। सँगै चढेका रविरञ्जन यादव, राम बालक साह र मुकेश रामको अवस्था शुक्रबार साँझसम्म अज्ञात छ । दुर्घटनाको खबर सुनेदेखि राजेश यादवकी पत्नी नितु यादवको आँखाबाट आँशु रोकिएका छैनन् ।
‘दुई छोरा र दुई छोरीको अब भरणपोषण कसरी हुने भनी चिन्ता र अझ लामो उमेर अब को भनेर जीउने’ भन्दै नितु अर्धमुर्छित अवस्थामा बर्वराइरहेकी छन् । सँगै हिँडेका गाउँका अन्य तीन जनाको अवस्था अज्ञात भएकोले गाउँ शोकमग्न छ । मुडबलवाका पाँचैजना स्नातकोत्तर गरेका उच्च शिक्षितहरु रहेका हुन् ।
एकै घरका दुई जना चित्तरञ्जन र रविरञ्जन यादव दुर्घटनामा परेपछि घर शोकमग्न छ । बिहीबार साँझ घरबाट खाना खाएर सँगै हिँडेका दाजुभाइमध्ये दाजु चित्तरञ्जनको सनाखत भएको छ । रविरञ्जनको अवस्था अझै अज्ञात छ । अठार दिनको छोरा भएकी चित्तरञ्जनकी पत्नी अचेत छिन् । स्थानीय उच्च माध्यमिक विद्यालयमा करारमा शिक्षण गरिरहेका चित्तरञ्जनको निधनले मुडबलवाको विद्यालय परिवार नै शोकमा डुबेको छ ।
गौर १३ की सन्ध्या श्रीवास्तवको मृत्यु भएको खबरले माइतीघर गौर ५ मा आमा मधु श्रीवास्तवको होस खुलेको छैन । बुवा बिनोद श्रीवास्तव पनि बेला बेलामा बेहोस भइरहेका छन् । श्रीवास्तव १२ वर्षे छोरा सुशान्त श्रीवास्तवलाई साथमै लिएर गएकोमा छोरा भने जीवितै रहेको छ । शिक्षक सेवा आयोगको परीक्षा दिन गएका लौकाहा २ का सच्चिन्द्र प्रसाद यादव र राकेश कुमार यादवको दुर्घटनामा मृत्यु भएपछि गाउँ पूरै स्तब्ध छ । गाउँका मानिसहरुले गाउँको मणि नै हराएको बताइरहेका छन् ।
शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन धेरै परीक्षार्थी बसमा चढेको अनुमान गरिएको छ । शंकर गुदर उच्च माध्यमिक विद्यालयमा करारमा करिब एक महिनादेखि अंग्रेजी शिक्षण गरिरहेका सर्लाहीका राजीवकुमार सिंह पनि सोही बसमा गएको टिकट लिएको गरुडा काउन्टरले पुष्टि गरेको छ । मृतक वा घाइते दुवैमा सिंह नभेटिएको घटनापछि भरतपुर पुगेका विद्यालयका प्राचार्य देवेन्द्र साहले बताए । झुनखुनवाबाट आफ्नो भतिजी ज्वाइँ पनि सोही बसमा चढेको तर साँझसम्म कुनै अत्तोपत्तो नलागेको साह बताउँछन् । परीक्षा दिन सोही बसमा पोखरा हिँडेका अर्का युवक गरुडा नगरपालिका वार्ड नम्बर ४ का सञ्जय कुमार यादवको अवस्था पनि साँझसम्म अज्ञात नै रहेको छ । आजको नागरिक दैनिकमा खबर छ ।