भारत जान भिषा लगाउनु पर्छ : नेपाली जनता दलका अध्यक्ष शाह

काठमाडौं – नेपाली जनता दलका अध्यक्ष तथा सांसद हरिचरण शाह अब नेपाली राजनीतिमा चिनाइरख्नु पर्ने नाम होइन । विभिन्न कारणले राजनीतिक चर्चा परिचर्चामा आइरहने सांसद शाह यतिबेला नयाँ बन्ने सरकारमा मन्त्री खाने चर्चामा भएको दाबी गर्न थालिएको छ, के भन्छन् त सांसद शाह उनीसँगको कुराकानी ।

तपाई देशव्यापी दौडाहाबाट भर्खर फर्केर आउनुभयो, सत्ता गठवन्धनको जोड घटाउ चलिरहेको छ । तपाईं त तराईका साना दलहरुमा पनि प्रभावशाली नेता हुनुहुन्छ कस्तो लागेको छ ?

नेता र दलहरु बीच मेरो प्रभावकारिता कति छ भन्नु भन्दा पनि म नेपाली जनताको लागि काम गर्ने हो । नेपाली जनता दलको तर्फबाट देश दौडाहामा गएर भर्खर फर्किएको छु । झापामा कार्यसमिति थिएन निर्माण ग¥यौं । अरु जिल्लामा भएका कार्यसमितिलाई भंग गरी यहि कात्तिकमा महाधिवेशन गर्ने शिलशिलामा छांै । चारवटा प्रादेशिक समिति घोषणा ग¥यांै । अब तीनवटा गर्न बाँकी छ । म अहिले त्यसैको दौडाहामा छु । हाल संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको  र म जनताको प्रतिनिधि भएको नाताले मेरो एक भोट पनि महत्वपूर्ण हुन सक्छ जनताको भावना समेट्न भनेर काठमाडौं फर्किएको छु ।

वर्तमान सत्ता गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएको छ, तपाईको विचार के छ ?

अहिले प्रचण्डले गरेको निर्णय स्वागतयोग्य छ । यो गठवन्धनमा माओवादी केन्द्र पहिला नै जान हुँदैनथ्यो । कमल थापा, चित्रबहादुर केसी जस्ता गणतन्त्र र संघीयता विरोधीसँग मैले त्यतिबेला नै आलोचना गरेर सरकारमा नजाने निर्णय गरेँ । त्यो अपवित्र गठवन्धन थियो । मलाई लाग्छ यसले केपी ओलीलाई पनि मुक्त गरेको छ । संसदीय पद्धतिमा एक दल प्रतिपक्षमा बस्नु पर्दछ तबमात्र त्यसले संसदीय शोभा दिन्छ । तर संविधान कार्यान्वयनमा भने एकजुट भएर लाग्नु पर्दछ ।

दलहरुबीच सरकार बनाउने र गिराउने खेलबाट नेपाली जनताले कहिले मुक्ति पाउने ?

म पनि स्थिर सरकार हुनुपर्छ भन्ने पक्षमा छु । यसमा मुख्य रुपमा तीन दल दोषी छन् । सत्तामा गएपछि आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ  भन्ने गलत परम्पराबाट मुक्त हुनु पर्दछ । सरकारमा गएकाले राम्रो काम गरेको छ भने गर्न  दिनु पर्दछ । सरकारमा गएकाले पनि सत्ता लम्व्याउने खेलमा लाग्ने र आफ्नो स्वार्थको लागि देशलाई अस्थिरतामा राख्नु हुँदैन ।

वर्तमान राजनीतिक परिघटना हेर्दा फेरि पनि सरकार सहमतीय बन्ने देखिदैन, बहुमतीय सरकारकै खेलको अभ्यास भएको छ, यसबाट देशले निकास पाउला त ?

बहुदलीय पद्धतिमा बहुमतीय सरकार नै हुन्छ । नेपालको संसदीय अभ्यासमा कम्युनिष्ट एकतन्त्रीय सिस्टम होइन । सरकार चलाउने काम फरक हो । एउटा प्रतिपक्ष सशक्त र चेतनशील हुनु पर्दछ । उसले खवरदारी गर्दा राम्रो कुरालाई ‘सपोट’ गर्दछ । नराम्रो काम गर्दा विरोध गर्दछ । तर जसरी संविधान बनाउन दुई तिहाई चाहिएको थियो त्यो कार्यान्वयनमा पनि आवश्यक छ ।

यस्तो राजनीति खिचातानीले संविधान कार्यान्वयन गर्न अप्ठ्यारो पर्दैन ?

संविधान बनाउने समयमा नै यिनी तीन ठूला पार्टीहरुले गल्ती गरेका हुन् । म मधेशी भए पनि मेरा दलको नीति, कार्यक्रम हिमाल, पहाड र तराईलाई समेट्ने खालको छ । सामाजिक न्याय, समावेशीतामा आधारित छ । संविधान बनाउँदा मैले ५३ वटा  बुँदामा संशोधन हालेको थिएँ त्यसलाई फेल गरिदिए । संविधान सहमतिमा बनाउनु पर्दथ्यो । संशोधन गराएर बनाउनु पर्दथ्यो । संविधान बनाउँदा राम्रोसँग बनाएको भए यो समस्या आउने थिएन  । एकतन्त्रीय पुरानो शासक सोचाइ र पुरानो मनसायले यस्तो भएको हो । अब सीमाङ्कन मिलाउनु पर्दछ । मेरो गोरुको बाह्रै टक्का गर्नु हुँदैन । सबैलाई यी तीन दलले मिलाएर लैजान सक्नु पर्छ । देश द्वन्द्वमा जानु हुँदैन ।

के तपाईंलाई यी तीन दल मिलेर जान सक्दछन् जस्तो लाग्दछ ? वर्तमान राजनीतिक घटनाक्रमले त त्यस्तो देखिदैन ?

यी तीन दल मिलेर नै संविधान बनाए अब देशको विकास गर्न द्वन्द्व मेटाउन यिनीहरु एकतावद्ध हुनु पर्दछ । भूकम्प पीडितका समस्या, मधेशी आन्दोलनका माग समाधान गर्न पनि मिल्नै पर्छ । मिलेको इतिहास पनि छ ।

मधेशी दलहरुले त संविधान पुनर्लेखन गर्नुपर्ने भनेका छन् नि ?

म पनि संविधान पुनर्लेखनकै पक्षमा हो । संशोधन भएपछि नै पुनर्लेखन हुने हो ।

संविधान कार्यान्वयन हुन नदिन देश विदेशबाट चलखेल भएको छ, भनिन्छ यथार्थ के हो ?

हामी आफू बहुमत नेपाली जनताको सांसदको सदस्य भएको व्यक्ति हो । मैले भन्ने गर्दछु ‘नाच्न नजान्ने आँगन टेढो’ हामी नेपालीहरु आफ्नो समस्या आफै समाधान गर्ने कुरामा थोरै सत्ता समीकरण विग्रियो कि विदेशी हस्तक्षेप लगाउने अनि बल्ल राष्ट्रवादको टाउको उठाउने यसले कसैको हित गर्दैन । हामी राष्ट्रवादको बारेमा एक अर्काको मुख हेरेर विविधिकरण नगरौं ।

हामीले भारत र चीनलाई दोष लगाएर हुँदैन । भारत त विकासमा धेरै अगाडि गइसक्यो । मैले त भन्ने गरेको छु, अब १० वर्षपछि नेपालीले भारत जान भिसा लगाउनु पर्दछ । त्यस्तो देशका नागरिक नेपाल आउँदैनन् । हामी दुईवटै छिमेकीसँग मिलेर गयौं भने अर्थतन्त्र राम्रो हुन्छ । अहिले संविधान कार्यान्वयन गर्न संशोधन गरांै  । हामी हिमाल पहाडी तराई होइन राष्ट्रवादी हौ । हामी आफै स्वाभिमानी र सम्पन्न हुुनु राष्ट्रवाद हो ।

नेपाली काङ्ग्रेस र माओवादीले सात बुँदे सहमतिमा मधेसी समस्याको समाधान गर्ने भनी प्राथमिकतामा राखेका छन्, समाधान होला त ? तपाईलाई कस्तो लाग्छ ?

मलाई लाग्दैन, यिनीहरुले समाधान गर्दछन् । यिनीहरुले त खुट्टा तान्ने मात्र काम गर्दछन् । यिनीहरुले त आफू सत्तामा गएर कसरी निर्वाचन गर्न सकिन्छ, आफ्नो वर्चस्व कसरी वढाउन सकिन्छ भन्नेमा मात्र केन्द्रित छन् । तर हेरौं कसरी अगाडि जान्छन् । । त्यसले निर्धारण गर्दछ ।

नेपालमा छिटो–छिटो सरकार परिवर्तन हुने खेलले त साना दलहरुलाई सरकारमा जान फाइदा पुगेको देखिन्छ नि ?

यो गलत कुरा हो, साना दललाई सरकारमा संख्या नपुगेर त लगेको हो । तर सानो दल संख्याकोे हिसावले सानो भए पनि विचारले ठूलो हुन्छ । संसदीय अभ्यासमा यो ठूलो कुरा होइन, मुख्य त देशको समस्या समाधानतिर जानु ठूलो र मुख्य कुरा हो ।

तपाईंलाई कांग्रेस सभापति शेरबहादुर र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट सरकारमा आउनु प¥यो भनी कुनै आश्वासन आएको त छैन ?

हामी आफ्नो शक्तिमा विश्वास गर्दछौं । हाम्रो नेपाली जनता दल लगायत अन्य १०/११ वटा साना दलहरुबीच गठवन्धन छ । हामीहरु बीचमा छलफल भेटघाट चलिरहेको छ । देशको समस्या समाधान गर्न हाम्रो भूमिका के हुन्छ ? त्यो भूमिका पूरा गर्न हाम्रो आवश्यकता यी दलहरुले महसुस गरे भने अवस्य सरकारमा गइन्छ ।

अन्त्यमा, भन्न मन लागेका अरु केही कुरा छन् कि ?

अहिले जुन पोलिटिकल क्राइसिस आएको छ । यही समयमा ठूला दलहरु मिलेर संविधान संशोधन गरी यो क्राइसिसको अवस्था अन्त्य गर्नु पर्दछ । तबमात्र सरकार बनाउनु पर्दछ भन्ने नै  जनता दलको भनाइ हो । प्रत्यक्ष चुनाव गरे पनि पूर्ण समानुपातिक हुनु पर्दछ भन्ने हाम्रो माग हो । विभिन्न क्षेत्र र जातीय जनसंख्याको आधारमा राज्यका तीनवटै निकाय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका एवं सैनिक, प्रहरी, निजामती सेवा लगायत अन्य निकायमा समाुनपातिक प्रणालीबाट सहभागिता जनाउने व्यवस्था होस् भन्ने हो, तबमात्र समस्याको समाधान हुन्छ, द्वन्द्व हट्छ । यसका निम्ति जनता दलको पथमा हिंड्नु पर्दछ ।

साभार् – motivatenews.com