बेइजिङमा के गर्दै छन् अर्थमन्त्री महरा

भदौ ३ , काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमणका क्रममा आपसी सम्बन्धलाई सुमधुर र घनिष्ठ बनाउन औपचारिकभन्दा अनौपचारिक भेटघाट र कूटनीतिलाई महत्त्व दिइरहेका छन् ।

उनको चीन भ्रमणको कार्यक्रमको विवरण काठमाडौंस्थित चिनियाँ दूतावासले तय गरेको थियो । बेइजिङको नेपाली दूतावासलाई परराष्ट्रमन्त्री वाङ यी र प्रधानमन्त्री ली खछ्याङसँगको भेटघाट हुनेमात्र कार्यक्रम उपलब्ध थियो ।
बिहीबार बेइजिङबाट छन्दु प्रस्थान गरेका महराले चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तका सचिव वाङ तुङ मिङसँग भेटवार्ता गरेका छन् । दुई नेताबीचमा आआफ्ना पार्टीको सम्बन्धलाई सुमधुर बनाउने विषयमा केन्द्रित थियो ।
बुधबार बिहान महराले प्रधानमन्त्री ली खछ्याङसँग भेट गरे । लगभग आधा घण्टा भएको भेटमा दुई पक्षीय शिष्टाचारका कुरा मात्र आदानप्रदान भए । बुधबारै अपराहन महराले एसिया प्रशान्त आदानप्रदान तथा सहयोग कोष एपेक फाउन्डेसन का अधिकारीहरूसँग भेट गरे ।
चीनमा यो संस्थाको वैधानिकतामा प्रश्न उठेको र विवादास्पद रहेकाले महरालाई नभेट्न परराष्ट्र मन्त्रालयले सुझाव दिएको थियो । सन् २०११ मा लुम्बिनीमा अर्बौं लगानी गर्ने भन्दै पुष्पकमल दाहाललाई उपाध्यक्ष बनाएको यो संस्था अहिले दाहाल प्रधानमन्त्री बनेपछि फेरि जुर्मुराउन थालेको छ ।
चीनले उच्चस्तरका विदेशी सरकारी पाहुनालाई राज्य गेस्ट हाउस त्याउथाई मा राख्ने गरेको थियो । यसपटक महरालाई राज्य गेस्ट हाउसमा नराखेर बेइजिङको सेन्ट रेगिस्ट होटलमा राखेको थियो । बसाइ, पोसाक र बडी ल्याङग्वेजले पनि कूटनीतिक सम्बन्धमा महत्त्वपूर्ण अर्थ राखेको हुन्छ ।
बुधबार साँझ महराले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मिनिस्टर सोङ थाउसँग भेट गरे । सोङले महराको स्वागतमा रात्रिभोज पनि दिए । महराले साथमा गएका नेपाली दूतावासका अधिकारीलाई समेत छुट्टै राखेर सोङसँग प्रत्यक्ष कुराकानी गरे । उनले नेपाल सरकारको प्रतिनिधिका रूपमा भन्दा पनि माओवादी केन्द्रको एक नेताको हैसियतबाट चिनियाँ कम्युनिस्ट पार्टीसँग आपसी सम्बन्ध मजबुत बनाउन खोजेको कुरा नेता सोङलाई राखेको बुझिएको छ ।
मंगलबार बिहान परराष्ट्रमन्त्री वाङ यीसँग भेट गरेका महराले अपराहन चिनियाँ राष्ट्रिय हवाई प्रविधि आयातनिर्यात संस्थान ुक्याटिकु का अधिकारीहरूसँग भेट गरेका थिए । महराले नेपालबाट नै संयोजन गरेको भेट थियो यो । संस्थासँग गत असारको अन्त्यमा आपूर्ति सचिव श्रीधर सापकोटाले नेतृत्व गरेको नेपाली टोलीले पनि भेट गरेको थियो । सचिव सापकोटाले महरालाई भेट गर्न सुझाव दिएकाले काठमाडौंबाटै भेट गर्ने कार्यक्रम मिलाइएको थियो । बेइजिङमा भेटघाटलाई सहजीकरण गर्ने काम चीनमा बस्ने विश्वास श्रेष्ठले गरेका थिए ।
उनी चिकित्साशास्त्र अध्ययन गरी हाल चीनमा नै व्यवसाय गरिरहेका नेपाली हुन् । क्याटिकले नेपालमा वैकल्पिक ऊर्जा तथा प्राविधिक विकासमा सहयोग र लगानी गर्ने बताउँदै आएको छ । अर्थमन्त्री महराले चिनियाँ व्यवसायीलाई नेपालमा लगानीको वातावरण बनाउन सहयोग गर्ने वचनबद्धतासमेत व्यक्त गरेका छन् ।
मंगलबार साँझ नेपाली दूतावासद्वारा आयोजित स्वागत कार्यक्रममा महराले छोटो औपचारिक मन्तव्य नेपाली भाषामा राखे । तर उनले अनौपचारिक रूपमा नेपाल विज्ञ मानिएका दुई जना चिनियाँसँग निकैबेर कुराकानी गरे । नेपालका बारेमा जानकार प्रोफेसर वाङ हुङ वै र नेपालका लागि पूर्वचिनियाँ राजदूत ली त प्यावोसँग महरा लामै समय गफ गरे । अाजकाे कान्तिपुरमा समाचार छ ।