देशभरका अस्थायी शिक्षकलाई स्थायी गर्न माग

साउन ३०, काठमाडौँ –अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले देशभरिका अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग गरेको छ ।

देशभरमा करिब २० हजार अस्थायी शिक्षक छन् । सरकारले अस्थायी शिक्षकलाई प्रकिया पु¥याई स्थायी गर्नुपर्ने समितिका अध्यक्ष निरेन्द्र कुँवरले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा शिक्षा ऐन आठौं संशोधनमा भएको अस्थायी शिक्षकसम्बन्धी दफामा संशोधन गरी २०६३ सालकै शिक्षा ऐन कायम गरी लागू गर्नुपर्ने, अस्थायी, लियन र परियोजनाका शिक्षकको शतप्रतिशत अस्थायी सेवा अवधि स्थायी सेवा अवधिमा गणना गर्नुपर्ने, बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई प्रावि शिक्षक सरह तलब भत्ताको व्यवस्था गर्नुपर्ने लगायत माग छन् ।

समितिले शिक्षा ऐन २०६३ लागू भएपछि उमेरहदका कारणले पेसाबाट अवकाशप्राप्त शिक्षक र सर्वाेच्च अदालतको २०६६ माघ २४ गतेको फैसलापछि कुनै पनि कारणले अवकाशमा परेका अस्थायी शिक्षकलाई स्थायी शिक्षक सरह औषधोपचार खर्च र उपदानको व्यवस्थाको समेत व्यवस्था गर्नुपर्ने माग गरेकोे छ । आफ्नो माग पूरा नभए आन्दोलनको कार्यक्रम ल्याइने चेतावनी दिइएको छ ।